Logo

सरकारलाई ‘बादशाह’ को संज्ञा दिँदै पूर्वमन्त्री किरातीले भने, ‘सभामुखज्यू बादशाह त नाङ्गैभुतुङ्गै छ’



काठमाडौं, १२ भदौ । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री सुदन किरातीले वर्तमान सरकार नाङ्गैभुतुङ्गै अवस्थामा रहेको टिप्पणी गरेका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारप्रति कडा शब्दमा टिप्पणी गरेका हुन् । उनले इतिहासका भारतीय शासक बादशाहको प्रसंग सुनाउँदै वर्तमान सरकारलाई दुनियाँले नाङ्गै छ भन्दा पनि विश्वास नगरेको बताए । सरकारलाई बादशाहको संज्ञा दिँदै उनले वर्तमान बादशाह नाङ्गै छ भन्ने कुरा भनिदिन उनले सभामुखलाई आग्रह गरे ।

‘बादशाह नाङ्गै सडकमा हिँडिराखेको थियो, उसको भजन मण्डलीले वस्त्र साह्रै राम्रो छ भनिराखेको थियो । तर, एउटा सानो बच्चाले बादशाह त नाङ्गै पो छ त भनेपछि मात्रै बादशाहले थाहा पायो । त्यो बादशाहले त्यो बेला थाहा पायो भनेपछि यो बादशाहले हजारौं युवाहरुले नाङ्गै छ भन्दा पनि थाहा पाएन । सभामुख महोदयले बादशाह त नाङ्गैभुतुङ्गै भइसक्यो भनिदिनुपर्यो,’– उनले भने ।

साथै, अहिले सरकारको कमजोरी औंल्याउँदा हनिमुन पनि मनाउन दिएनन् भन्ने आलोचना सुन्नुपरेको उनले बताए । परिस्थिति हेर्दा वर्तमान सरकारलाई हनिमुन मनाउने छुट नरहेको उनको भनाइ छ । सांसद किरातीले सरकारको मन नपोलेको खण्डमा राष्ट्रघाती काम नगरेर हनिमुन मनाउन सुझाव दिए । वर्तमान सरकार जादुमय ढंगले बनेको बताउँदै उनले जन्मकालमै धेरै प्रश्नहरु जन्मिएको बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्