Logo

ओली–देउवाविरुद्ध नाराबाजी गर्न रास्वपाले घुसपैठ गरेको सांसद बजगाईँको आशंका, धार्मिक सहिष्णुता भंग गर्न खोजेको आरोप



काठमाडौं, १३ भदौ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाईँले प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी भएको गौरा पर्वको कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीको घुसपैठ भएको आशंका व्यक्त गरेका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर सम्बोधन गर्दै उनले रास्वपाले धार्मिक सहिष्णुता भंग गर्न खोजेको टिप्पणी गरे ।

गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा ओली–देउवाविरुद्ध नारा लगाउने दुई जना प्रहरी नियन्त्रणमा छन् । रास्वपा नेता एवं सांसद हरि ढकालले उनीहरुको तत्काल रिहाइको माग गरेका थिए ।

‘प्रतिपक्षीको रोमा बसेका सांसद साथीहरुले गौरा पर्वको अवसरमा टुँडिखेलमा प्रदर्शन गर्ने साथीहरुको रिहाइको माग गर्नुभयो । दलका साथीहरुको पनि त्यहाँ उपस्थिति देखियो भनेर पत्रपत्रिकामा आएको छ । गौरा पर्वमा आक्रमण गरेको कि प्रधानमन्त्री, नेपाल सरकारका साझेदार पूर्व प्रधानमन्त्रीमाथि आक्रमण गरेको ? धार्मिक सहिष्णुता भंग गर्ने गतिविधिको लागि जुन दल छ, त्यो दलमाथि म प्रश्न गर्न चाहन्छु,’– सांसद बजगाईँले भने ।

साथै, रास्वपाका सहमहामन्त्रीले आफूलाई नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का डीजी प्रदीप अधिकारीलाई जोगाइदिन भन्दै आग्रह गरेको उनले दाबी गरेका छन् । ‘रवि लामिछानेजीको दलको निर्वाचन क्षेत्रको मान्छे क्यानका डीजीलाई जोगाउनुपर्यो भनेर अचानक म कहाँ आइपुग्नुभयो । उहाँ त्यो पार्टीको सहमहामन्त्री हुनुहुन्छ । यो द्वैत चरित्रले देश कहाँ पुग्छ ? नयाँ पार्टीसँग हाम्रो यत्रो आशा, भरोसा छ भनेर भनिएको छ । यस्तो डबल स्ट्याण्डर्ड हाम्रो यो देशमा नयाँ पार्टीबाट हुन्छ भनेर कहिले पनि कल्पना गरेको थिइनँ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्