काठमाडौं, १४ भदौ । परराष्ट्रमन्त्री एवम् नेपाली कांग्रेसकी नेतृ डा.आरजु राणा देउवाले पार्टीभित्र संविधानले महिलाहरूलाई दिएको अधिकार संरक्षण हुनुपर्ने माग गरेकी छिन् । बिहीबार काठमाडौंमा नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिद्वारा आयोजित तीज पर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै डा।राणाले पार्टीको केन्द्रदेखि गाउँ, वडा तहसम्म पदाधिकारीमा महिलालाई स्थान दिइनुपर्ने बताइन् ।
उनले महिलाहरूलाई मनोनयन होस् वा निर्वाचित जे गरेर हुन्छ पदाधिकारीमा ल्याउन सुझाव दिइन् । ‘पार्टीभित्र पनि संविधानमा लेखेको जस्तो पार्टीभित्र पनि अझै धेरै पदाधिकारीको पद बढाउनु पर्छ । चाहे त्यो मनोनयन होस्, या निर्वाचित होस् । यो चाहिँ राख्नुपर्छ । यो केन्द्रमा मात्रै होइन ।’ उनले भनिन्, ‘पार्टीको हरेक ठाउँमा राख्नुपर्छ । हामी सक्षम भइसक्यौँ । हामीलाई अनुभव भइसक्यो । एक पटक समानुपातिकमा आएपछि महिलाहरू राजनीतिबाट रिटायर्ड गरिदिने त ? यति धेरै संघर्ष गरेर त्यहाँसम्म पुगेको महिलालाई हामीले छुटाउन मिल्दैन ।’
बागमती कांग्रेसका सभापति ईन्द्रबहादुर बानियाँले पनि महिला दिदी बहिनीहरूलाई तीज पर्वको शुभकामना दिँदै राज्यका हरेक निकायमा स्थान दिइनुपर्ने बताए । उनले महिलाहरूको शक्तिलाई एक बनाउने हो भने कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्ने र मुलुकको विकासमा विशेष सहयोग हुने बताए ।
तीज कार्यक्रममा सहभागी हुन आएकी कांग्रेस नेतृ एवम् परराष्ट्रमन्त्री डा.राणालाई बागमती कांग्रेसका सभापति ईन्द्रबहादुर बानियाँ, बागमती कांग्रेसकी सहमहामन्त्री जीवन डङ्गोल, केन्द्रीय सदस्य डिला संग्रौला, चित्रलेखा यादव, नेतृ ज्योत्सना साउद लगायतले स्वागत गरेका थिए ।