Logo

सरकार परिवर्तन हुनेवित्तिकै देशको परराष्ट्र नीति फेरबदल हुन हुँदैनः राजकिशोर यादव



काठमाडौं, १४ भदौ । जनता समाजवादी पार्टीका नेता एवं प्रतिनिधि सभाअन्तर्गतको परराष्ट्र सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवले सरकार परिवर्तन हुनेवित्तिकै देशको परराष्ट्र नीति परिवर्तन हुन नहुने बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेपालको हितलाई केन्द्रविन्दुमा राखेर बढीभन्दा बढी फाइदा लिन सकिने खालको परराष्ट्र नीति आवलम्बन गनुपर्ने बताएका हुन् । ‘पछिल्लो चरणमा हाम्रो परराष्ट्र नीति सरकार वा व्यक्तिअनुसार फलानो आयो भने यस्तो हुने भन्ने भाष्य निर्माण गरिन्छ । त्यो दुर्भाग्य हो,’– उनले भने ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको भारत भ्रमणमा उनलाई उच्च सम्मान गरिएको उनले बताए । ‘पछिल्लो चरणमा हाम्रो परराष्ट्रमन्त्री भारत जाँदा भारतले उच्च सम्मान गरेको स्थिति छ । देशलाई नै महत्व दिइएको छ । मोदीजी आइसकेपछि छिमेकीलाई पहिलो महत्व राखिएको छ,’– उनले भने ।

भारत र वर्तमान सरकारबीच राम्रो वातावरण निर्माण भइरहेको आफूले पाएको उनले सुनाए । नेपाल र भारतबीचको व्यापार घाटा कम गर्ने, नेपालले निर्यात गर्ने चिजवस्तुहरुमा सहुलियत पाउनुपर्ने लगायतको विषयमा ध्यान जानुपर्ने पनि उनले बताए । साथै, अहिलेसम्म नसुल्झिएको नेपाल र भारतबीचको समस्या वर्तमान सरकारले सुल्झाउने कोशिस गर्नुपर्ने उनले बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस्