Logo

कोशीमा पनि योगेशको चर्चा, संकटकालमा हातहतियारको कारोबार र चन्दा असुली गरेको आरोप



काठमाडौं, १४ भदौ । नेकपा (माओवादी केन्द्र) का नेता एवं कोशी प्रदेश सभा सदस्य इन्द्रबहादुर आङ्बोले नेकपा (एमाले) का सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले संकटकालमा नक्कली माओवादी बनेर हातहतियारको कारोबार र चन्दा असुली गरेको आरोप लगाएका छन् । आज (शुक्रबार) कोशी प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै उनले संकटकालमा नक्कली माओवादी बनेर चन्दा असुली र हात हतियारको कारोबार गरेका योगेशले जनयुद्धलाई हिंसा भनेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले योगेशलाई ‘एमालेको शरणार्थी’ संज्ञा दिए । योगेशको आरोप एमालेले समेत संस्थागत रुपमा स्वीकार नगरेको उनको दाबी छ । एक जना शरणार्थीको आरोपलाई माओवादीले ठूलो कुरा नमानेको उनले बताए । सो कुरालाई माओवादीले आवश्यक परेको ठाउँमा प्रतिवाद गर्ने पनि उनले बताए ।

‘हामी लडेकाहरुले यसलाई जनयुद्ध भनौंला । सम्मानीय प्रधानमन्त्रीज्यूले संविधानको मर्मअनुसार सशस्त्र द्वन्द्व भन्नुभएको छ । यसलाई हामी स्वीकार्छौं । तर, एक जना माननीयज्यू सो संकटकालको बेला हतियार, खरखजनाको कारोबार गर्नुहुन्थ्यो । उहाँले हतियार खरखजनाको काम नक्कली माओवादी बनेर गर्नुभयो र नक्कली माओवादी बनेर चन्दा असुलीको धन्दा गर्नुभयो ।’ उनले भने, ‘उहाँ एक जना माननीयज्यूले यो क्रान्तिलाई हिंसा भन्नु भएको छ । हामीलाई मान्य छैन, संस्थागत रुपमा त्यो दलले पनि यसलाई स्वीकारेको छैन जस्तो लाग्छ । मैले अहिले के भन्ने गरेको छु भने– त्यो दलको एक जना शरणार्थीले यो आन्दोलनको गरिमामाथि गरेको प्रहारलाई हामीले सामान्य रुपमा लिएका छौनौं । संस्थागत रुपमा त्यो दलले भनेको होईन, एक जना शरणार्थीले बोलेको कुरालाई हामीले धेरै ठूलो विषय लिँदैनौं । आवश्यक ठाउँमा प्रतिवाद गर्ने नै छौं ।’



प्रतिक्रिया दिनुहोस्