Logo

देउवासँग जुट्यो सहमतिः एक्जिट पोलिसी र गठबन्धन नगर्ने अडानबाट महामन्त्रीद्वय व्याक



काठमाडौं, १५ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय विश्वप्रकाश शर्मा, गगन थापाबीच सहमति जुटेको छ । आज (शनिबार) महामन्त्रीद्वयसँग सभापति देउवाले छलफल गरेका थिए । पार्टीको महासमिति बैठकमा महामन्त्री थापाले आगामी निर्वाचनदेखि कसैसँग पनि गठबन्धन गर्न नहुने प्रस्ताव राखेका थिए । गठबन्धन गर्दा कांग्रेस कमजोर हुँदै गएको उनको दाबी थियो । अर्का महामन्त्री शर्माले ‘एक्जिट पोलिसी’ को प्रस्ताव अगाडि सारेका थिए । उनको प्रस्तावमा एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटकभन्दा बढी सांसद बन्न नपाउने प्रस्ताव अगाडि सारेका थिए ।

महामन्त्रीद्वयको प्रस्तावबाट झस्किएका देउवाले अन्ततः गगन–विश्वप्रकाशलाई गलाएरै छाडेका छन् । बुढानीलकण्ठ स्रोतका अनुसार निर्वाचनको बेला गठबन्धन गर्ने वा नगर्ने विषयमा अहिले महामन्त्री थापा मौन बस्ने सहमति बनेको छ । त्यस्तै, अर्का महामन्त्री शर्माको एक्जिट पोलिसीमा भने संविधान संशोधनको बेला छलफलमा ल्याईने गरी सहमति भएको बताइएको छ ।

महामन्त्रीद्वयको प्रस्तावमा पार्टी केन्द्रीय समितिमा ब्यापक छलफल भइरहेको थियो । देउवा पत्नीसमेत रहेकी परराष्ट्रमन्त्री आरजु राणाले केन्द्रीय समितिमा महामन्त्री शर्माको प्रस्तावमाथि ठाडो आलोचना गरेकी थिईन् । महामन्त्री शर्माले अगाडि सारेको एक्जिट पोलिसी लागू भएको खण्डमा सभापति देउवा प्रधानमन्त्री बन्नबाट बञ्चित हुनेथिए । यसअघि पाँचौ पटक प्रधानमन्त्री भइसकेका देउवा अब २३ महिनापछि प्रधानमन्त्री बन्ने लाईनमा छन् । एमाले र कांग्रेसबीच भएको पाँच बुँदे सहमतिमा २ वर्षपछि देउवालाई प्रधानमन्त्री बनाउने उल्लेख छ ।

सभापति देउवाले महामन्त्रीद्वयलाई अन्ततः मध्यमार्गी बाटोमा ल्याएरै छाडेका हुन् । महामन्त्रीद्वयलाई विश्वासमा लिएर उनले अन्ततः प्रधानमन्त्री पद सुरक्षित गरेका छन् । कांग्रेस केन्द्रीय समिति बैठक भोलि (भदौ १६ गते) बस्दैछ ।



प्रतिक्रिया दिनुहोस्