काठमाडौं, १७ भदौ । नेपाल बार एशोसिएशनले हाललाई धर्ना तथा आन्दोलनको कार्यक्रम स्थगित गरेको छ । आज सर्वोच्च अदालतले बार बेञ्च समन्वय समतिको बैठक राखी वार्तामा बोलाएको थियो ।
वार्ताबाट निकासका निमित्त पाँच सदस्यीय कार्यदल गठन भएको छ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश माननीय प्रकाशमान सिंह राउत, न्याय परिषद् सदस्य वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी, नेपाल बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे, महासचिव अधिवक्ता अन्जिता खनाल र सदस्य सचिवमा न्याय परिषद्का सचिव यम बहादुर बुढामगर रहने गरी कार्यदल गठन भएको छ ।
‘बेञ्च समन्वय समितिको बैठकमा भएको सहमति अनुसार न्याय परिषद् नियमावलीमा भएको संशोधनका सम्बन्धमा समाधान निकाल्ने सहमति भई कार्यदलको निष्कर्ष नआउँदासम्मको लागि नेपाल बार एशोसिएशनको धर्ना कार्यक्रम हाललाई स्थगन भएको जानकारी गराउँदछौं,’– बारले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।