Logo

मनाङ्गेले मन्त्रालय बेच्न खोजेपछि राजनीतिक वृत्तमा हङ्गामा, संघीय संसद्मा प्रश्नैप्रश्न



काठमाडौं, १८ भदौ । गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङ्गेको अभिव्यक्ति यतिबेला राजनीतिक बृत्तमा खुबै चर्चामा छ । गण्डकी प्रदेश सरकारका निवर्तमान भौतिक पूर्वाधारमन्त्री समेत रहेका मनाङ्गे हिजो मन्त्रालय बेच्ने निर्णयमा पुगेसँगै उनको आलोचना सुरु भएको हो ।

यसअघि गण्डकी सरकारको भौतिक पूर्वाधारमन्त्री समेत रहेका मनाङ्गेले हिजो राजीनामा दिएका थिए । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद्लाई पूर्णता दिँदै यसअघि भौतिक पूर्वाधारमन्त्री रहेका मनाङ्गेको जिम्मेवारी हेरफेर गरेका थिए । उनलाई वन मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

वन मन्त्रालय अन्य मन्त्रालयभन्दा सानो रहेको भन्दै उनले राजीनामा दिएर सरकारबाट बाहिरिए । त्यसपछि उनले मन्त्रालय विक्रीमा रहेको बताएका थिए । गुरुङले कांग्रेसलाई भए डेढ करोड र एमालेलाई तीन करोडमा मन्त्रालय दिनेसमेत बताएका थिए ।

‘मैले मन्त्रालय बेच्दैछु । कांग्रेसले डेढ करोड रुपैयाँ दिन आइसक्यो । मैले तीन मागिरहेको छु । मन्त्रालय नजाने, पैसा लिने प्लान छ मेरो । मन्त्रालय बेच्दिने । पैसावालाहरु छन् त, मन्त्री नपाएरका धेरै छन् विचरा !’ उनले भनेका थिए ।

मनाङ्गेको उक्त अभिव्यक्तिबारे प्रतिनिधि सभा सदस्यहरुले प्रश्न उठाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ एवं प्रतिनिधि सभा सदस्य रोशन कार्कीले गण्डकी प्रदेश सरकारमा मन्त्री पद नै लिलामीमा चढेको टिप्पणी गरिन् । उनले राप्रपाले त्यही कारणले प्रदेश खारेजीको माग गरेको बताईन् ।

‘गण्डकी प्रदेशमा त मन्त्री पद नै लिलामीमा चढ्यो । यो के हो रु त्यसैकारण राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश खारेज गरौं, यो सेतो हात्ति नपालौं भनेको छ । हामीले यस्तो खालको गार्इजात्रा हेर्नुनपरोस्,’– उनले भनिन् ।

त्यस्तै, नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले गण्डकीमा मन्त्री पद नै विक्रीमा राखिएको बारे जवाफ कसले दिने ? भन्दै प्रश्न गरे । उनले यसबारे सरकारको ध्यानाकार्षण गराए ।

‘गण्डकी प्रदेशमा मन्त्रीको पद नै विक्री गर्न लागियो भन्ने चर्चा छ । यो के हो ? यो बारे कसले जवाफ दिनुपर्ने हो ? यसको जवाफ हामी खोज्न चाहन्छौं । मन्त्रीको पद पैसामा विक्री गर्न सुरुवात गरिएको हो कि होईन ? यस्ता अभिव्यक्ति किन आउँछन् ? यो बारे सरकारले जानकारी देओस्,’– उनले भने ।

मनाङ्गेको उक्त अभिव्यक्तिले चिया पसलदेखि संसद्सम्म स्थान पाएको छ । प्रदेश सरकारदेखि संघीय सरकारमा पनि मन्त्री पद खरिद–विक्री हुनेगरेको मनाङ्गेको अभिव्यक्तिले पुष्टि गरेको धेरैको बुझाइ छ । File Photo



प्रतिक्रिया दिनुहोस्