Logo

कञ्चनपुरका आरक्ष पीडितको समस्या तत्काल समाधान गर्न एनपी साउदको माग



काठमाडौं, १८ भदौ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य एनपी साउदले कञ्चनपुरको शुक्लाफाँटा आरक्ष पीडितको समस्या समाधान गर्न माग गरेका छन् । प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद साउदले न्यायिक आयोग गठन गरेर तत्काल समस्या समाधान गर्न माग गरेका हुन् ।

साउदकाअनुसार कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका लागि किसानहरूको जग्गा सरकारले लिएको ४० वर्ष भइसकेको छ । ४० वर्षमा ३२ वटा आयोग गठन गरेर करोडौं रकम खर्च भइसक्दा पनि समस्या समाधान हुन सकेको छैन ।

‘वन्यजन्तुको वर्षायाममा चुरेसम्म विचरणको लागि करिडोर विस्तार गर्न सरकारले जग्गा लिएको हुनाले उक्त जग्गाको सट्टा भर्ना र राहतको व्यवस्था नगर्दा आज पनि धेरै किसानहरू रूखमुनी बास बसेका छन्,’– उनले भने ।

तत्कालीन वनमन्त्री महेश आचार्यको पालामा बनेको पूर्वन्यायाधीश ठाकुरप्रसाद शर्माको आयोगले आरक्ष पीडितको संख्या यकिन गरि राहतको लागि सडकदेखि दुरी हेरी १ देखि ५ कठ्ठा जग्गा वा ५ लाख रकम उपलब्ध गराउने सिफारिस गरेको उल्लेख गर्दै साउदले तर उक्त जग्गा र राहत रकम कम भएकोले बढाउनुपर्ने माग राखेर आरक्ष पीडित आज पनि आन्दोलनमा रहेको सदनलाई जानकारी गराए ।

‘म नेपाल सरकारलाई पूर्व न्यायाधीशको अध्यक्षतामा गैरराजनीतिक आयोग गठन गरेर पीडितमैत्री किसिमले यो समस्या तत्काल समाधान गर्न जोडदार माग गर्दछु,’ पूर्वमन्त्री समेत रहेका साउदले भने ।



प्रतिक्रिया दिनुहोस्