काठमाडौं, १९ भदौ । नागरिक समाजका अगुवा सुन्दरमणि दीक्षितले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादु देउवाले युवाहरुको चरित्रहत्या गरेको आरोप लगाएका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित विशेष साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०४६ र ०६२/०६३ को आन्दोलनमा ‘वीरे चोर देश छोड्’ र ‘ज्ञाने चोर देश छोड्’ भनेर नारा लगाउन सिकाउने ओली, देउवाले तिनै युवाहरुलाई फटाहा, बदमास र गुण्डा भनेर अपमान गरेको उनले बताए ।
उनले आफू २०३६ सालदेखि ०४६ र ०६२/०६३ को आन्दोलनमा पनि नागरिक समाजको तर्फबाट सहयोग पुर्याएको बताउँदै सोचेजस्तो परिवर्तन आउन नसकेको सुनाए । आज मुलुक चरम अन्धकारमा फसेको उनको टिप्पणी छ ।
‘डेमोक्रेशीमा बोल्न पाइन्छ, प्रधानमन्त्रीको विरोधमा पनि बोल्न पाइन्छ । नत्रभने बोल्न नपाइने र संविधानले बोल्न दिन मान्दैन भनेदेखि मलाई बताउनुस्, केपी ओली ०४६ सालमा सडकमा उत्रिँदा म पनि सडकमा छु, त्यो सडकको नाराबाजीमा ‘वीरे चोर देश छोड्’ कसले भनेको ? त्यो नारा नागरिक समाजको होईन, ‘वीरे चोर देश छोड्’ भन्न पाइन्थ्यो ? ०६२/०६३ मा ‘ज्ञाने चोर देश छोड्’ कसले भनेको ? त्यही युवाहरुले भनेका हुन् । त्यही भनेर ती युवाहरुले तपाईँहरुलाई राज्यमा पुर्याएको छ । आज तिनै युवाहरुले हुटिङ गर्दा पक्राउ गर्ने, समाउने, डण्डा चलाउने ? यो हो डेमोक्रेशी ?’ प्रश्न गर्दै उनले भने, ‘देउवा र ओलीले बरु युवाहरुको चरित्र हत्या गरेका छन् । फटाहा, बदमास, गुण्डा के–के भने के–के ? त्यो भन्न पाइन्छ ? जनतालाई हेप्ने हो ? युवाहरुलाई हेप्ने हो ?’
माथिल्लो ओहदामा बसेर तलकासँग जोरी खोज्न नहुने उनले बताए । माथिल्लो ओहदामा बसेकाहरुले तल्लो ओहदामा रहेकाहरुसँग जोरी खोज्दा मान्छेहरुले ठटाउने उनको चेतावनी छ । युवाहरुलाई हेपेर, डण्डा चलाएर मुलुक अगाडि बढ्न नसक्ने उनको भनाइ छ ।