काठमाडौं, १९ भदौ । नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले नोट र भोटका शिकारीहरुले देश विकास हुन नदिएको टिप्पणी गरेका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै अहिले प्रत्येक सरकारी कार्यालयमा भ्रष्टाचारैभ्रष्टाचार रहेको दाबी गरे ।
नेता बिडारीले कर्मचारी र नेतालाई क्रमशः नोट र भोटको शिकारीको संज्ञा दिए । मालपोत, यातायात, भूमि सुधार, सडकजस्ता कार्यालयका कार्मचारीले पैसा नखाइ काम नै नगर्ने उनको दाबी छ । त्यस्तै, भोटका लागि नेताहरुले झुठ बोल्ने, अपराध गर्ने, तस्करी गर्ने, सुन बेच्ने, नागरिकलाई नक्कली शरणार्थी बनाएर पठाउनेजस्ता कर्म गर्ने गरेको उनको आरोप छ ।
‘अहिले प्रत्येक कार्यालयमा भ्रष्टाचार छ । यातायात कार्यालयमा घुस खाएर नक्कली लाइसेन्स दिएछन् । मालपोत, भूमि सुधार, सडक कार्यालय जानुस्, पैसा नलिई कर्मचारीले काम गर्दैगर्र्दैनन् ।’ उनले थपे, ‘कर्मचारी नोटमा बिकेका छन्, नेताहरु भोटमात्रै हेर्छन् । के गर्यो भने भोट आउँछ, त्यही भन्ने, झुठ बोलेर भोट आउँछ, त्यही गर्ने, अपराध गरेर भोट आउँछ, त्यही गर्ने । तस्करी गरेर, सुन बेचेर, नक्कली शरणार्थी बनाएर बेचेर भोट आउँछ, त्यही गर्ने । के गर्यो भने भोट सिकार गर्न सकिन्छ ? त्यही गर्ने । नोट र भोट सिकारीहरुले गर्दा देश विकास भएन ।’