Logo

एमाले महासचिव पोखरेलको आरोप, ‘प्रचण्डले देशलाई श्रीलंका र बंगलादेशको बाटोमा डोहोर्याए’



काठमाडौं, २० भदौ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सत्ताबाहिर पुगेपछि पुष्पकमल दाहाल ’प्रचण्ड’ले देशलाई श्रीलंका र बंगलादेशको बाटोमा डोहोर्याउने गरी अलोकतान्त्रिक अभिव्यक्ति दिएको आरोप लगाएका छन् । प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले बिहीबार (आज) सुर्खेत विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले यस्तो आरोप लगाएका हुन् ।

‘माओवादी अध्यक्ष् प्रचण्डको अतिवादी दृष्टिकोणबाट अनेक खाले अस्थिरता मच्याउने काम भइरहेको छ,’ उनले भने, ‘प्रतिपक्ष दलका नेता प्रचण्डको असंसदीय राजनीतिका कारण संसदभित्र किचलो भएको छ । प्रतिपक्ष दलको नेताले श्रीलङ्का र बङ्गलादेशको उदाहरण दिन हुन्थेन । त्यो लोकतान्त्रिक हुन सक्दैन ।’

आफूहरूको आशय दुई दलीय व्यवस्था नभई फरक विचारका दुई दल भए पुग्छ भन्ने रहेको बताए । उनले राजनीतिक स्थायित्व र विकासका लागि नेपालमा दुई दल मात्र भए पुग्ने बताए । तर, कांग्रेस र एमालेले दुई दलीय व्यवस्थाको वकालत नगरेको उनको स्पस्टोक्ति थियो ।

‘मैले दुई दलीय प्रणालीको कुरा गरेको छैन मुलुकको स्थायित्व र विकासका लागि दुई दल भए पुग्छ भनेको हो । अमेरिकामा सयौं वर्षदेखि दुई दलबीच प्रतिस्पर्धा भइरहेको छ । संसद्को जननी बेलायतमा अरु दल खोल्न नपाइने हो र ? तर, दुई दलबीच नै प्रतिस्पर्धा चलिरहेकै छ’ महासचिव पोखरेलले भने, ‘नेपालमा जनमत विभाजित भयो भन्ने प्रश्नसहित धेरै दल होइन बलिया दुई दल भए पुग्छ भनेको हो । मुख्य त दुई विचार पुँजीवादको सुधार कि समाजवाद भन्ने नै हो । ’

फरक प्रसंगमा महासचिव पोखरेलले सरकारप्रति कांग्रेस महामन्त्रीद्वय असन्तुष्ट रहेको भन्ने कुरा बनावटी रहेको बताए । ‘उहाँहरूले बाहिर आएर भनेको सुनेका छौं र ? कथा बनाइयो । कांग्रेसको औपचारिक निर्णय–यो समीकरण कांग्रेसको मेहनतको परिणाम भन्ने छ,’ उनले भने ।

०८४ मा एमाले बलियो शक्ति भएर आउँछ

२०८४ मा एमालेलाई देशकै बलियो र राष्ट्रिय शक्ति स्थापित भएर छोड्ने ठोकुवा महासचिव पोखरेलले गरे । लोकतन्त्रलाई सुदृढ गर्न आवश्यक भएको बताउँदै महासचिव पोखरेलले त्यसका लागि बलियो शक्ति आवश्यक भएकाले ०८४ मा एमाले मुलुककै बलियो शक्तिका रूपमा स्थापित हुने बताए । युवाहरूमा निकै निराशावाद पलाएको र ती युवालाई तत्कालै राज्यले रोजगारी दिने अवस्था नरहेको उनले बताए । तर त्यसका लागि सबै तहका सरकारले काम गर्नुपर्ने र निराशालाई चिर्न राज्य तयार हुनुपर्नेमा पोखरेलले जोड थियो ।

एमाले–कांग्रेसको सरकार बनेपछि राजश्व वृद्ध हुन थालेको उनले बताए । महासचिव पोखरेलले नेपालको मौलिक संस्कृतिमाथि अतिक्रमण गर्ने काम भइरहेकोसमेत बताए ।

काठमाडौँका मेयर बालेन साह र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको टकरावलाई लिएर पोखरेलले बालेनले प्रधानमन्त्रीसँग उक्त विषय जोड्न आवश्यक नभएको बताए । बालेनले लगाएको आरोपबारे सम्बन्धित निकायले पुष्टि गर्ने भएकाले खासै बोल्न आवश्यक नरहेको उनको भनाइ थियो ।



प्रतिक्रिया दिनुहोस्