Logo

पठन संस्कृती र विचार निर्माणको निरन्तरताका लागि वृहत पुस्तक संकलन अभियान जारी



काठमाडौं, २१ भदौ । अखिल (क्रान्तिकारी) नेपाल ल क्याम्पस समिती शैक्षिक विभागले विचार, दर्शन र साहित्यसँग सम्बन्धीत बृहत पुस्तक संकलन अभियानको सुरुवात गरेको छ । विश्वविद्यालयमा पठन संस्कृती र विचार निर्माणलाई निरन्तरता दिने  उदेश्यस्वरुप अभियानको सुरुवात गरिएको अखिल (क्रान्तिकारी) नेपाल क्याम्पस समितीका अध्यक्ष ओम प्रकाश सुनारले बताए ।

विश्वविद्यालय र क्याम्पस विचार , दृष्टिकोण निर्माण गर्ने ठाउँ हो । विद्यार्थीहरुमा पछिल्लो समय पुस्तक पढ्ने, पुस्तकालयमा समय बिताउन छाडेर चिया पसल, क्याम्पस र विश्वविद्यालय परिसरमा नकारात्मक गतिविधिमा सामेल भइरहेको देखिन्छ । युवापुस्तालाई रचनात्मक र आलोचनात्मक चेतको विकास गर्न पुस्तकहरु पढ्नु अहिलेको आवश्यक्ता हो । युवा पुस्तामा पठन संस्कृतिको विकास गर्न यो अभियानले सहयोग गर्छ भन्ने विश्वास लिएका छौं,’– अध्यक्ष सुनारले भने ।

विद्यार्थी राजनीतिको नाममा क्याम्पस र विश्वविद्यालय परिसरमा लाखौं पैसा खर्च गरेर तडकभडक पुर्ण गतिविधि गर्ने, विद्यार्थीहरुलाइ चुनाव केन्द्रित मात्रै  गर्ने प्रवृत्ति अहिले बढेको उनले बताए । जसका कारण विद्यार्थी र युवा पुस्तामा रचनात्मकको सट्टा नकारात्मक चेतना विकास भइरहेको उनले बताए । अध्यक्ष सुनारका अनुसार अहिले लाखौं खर्च गरेर विभिन्न तडकभडक कार्यक्रम गर्न सक्ने विद्यार्थी नेता र संगठनहरुले पठन संस्कृती र विचार निर्माण गर्ने रचनात्मक काम, कार्यक्रमहरु ल्याउन सकिरहेका छैनन । जसका कारण आजका दिनमा आम विद्यार्थीहरु राजनीतिदेखि पर भाग्ने गरेका छन् ।

आज विश्वबिद्धालय र क्याम्पसहरुमा विद्यार्थीहरु आर्थिक अभावले अध्ययन छाड्ने बाध्य भएका छन् । पुस्तकालयमा पुस्तकहरुको अभाव छ । तर, आज विद्यार्थी राजनीति गर्ने नेताहरु लाखौं पैसा खर्च गरेर तडकभडक कार्यक्रम गर्ने र फरक राजनीति संगठनसँग प्रतिस्पर्धा गर्दैछन् । सायद दरमा लाखौं खर्च गर्नुको साटो पुस्तकालयमा पुस्तकहरु भरिन्छन् । विद्यार्थीहरुको आर्थिक अभाव टर्न सक्छ । विद्यार्थी नेताहरु  विद्यार्थीहरुको अभाव , समस्या जित्नेभन्दा पनि चुनाव जित्ने दौडमा छन्,’– अध्यक्ष सुनुवारले भने ।

आफूहरुले भदौ १५ पुस्तकालय दिवसको दिन केही पुस्तक नेपाल ल क्याम्पसको पुस्तकालयमा पनि प्रदान गरेको उनले बताए । ‘विचार निर्माण गर्ने केही पुस्तक क्याम्पस प्रशासनलाई पुस्तकालयमा उपलब्ध गराउन लगाएका छौं,’– उनले भने ।

विश्वविद्यालयमा रचनात्मक कार्य र  विद्यार्थीहरुका आवश्यकता, मध्यनजर गरी काम गर्न सकिन्छ र सक्नुपर्छ भन्ने उद्देश्यले आफूहरु लागिपरेको उनको भनाइ छ । ‘हामीले बृहत् पुस्तक संकलन गर्ने अभियान सुरु गरेका छौं । संकलन भएका पुस्तककरु उपत्यका तथा उपत्यका बाहिरीका ग्रामीण पुस्तकालयहरुमा हस्तान्तरण गर्नेछौं,’– अध्यक्ष सुनारले भने ।



प्रतिक्रिया दिनुहोस्