काठमाडौं, २४ भदौ । नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले दुई जना बालबालिकाको ज्यान जानेगरी पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङवुङमा भएको बम विष्पोटको सन्दर्भमा सदनलाई जानकारी गराउन माग गरेका छन् । आज (सोमबार) प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले सो घटनाबारे अनुसन्धान हुनुपर्ने बताए ।
सो घटनामा दाजु बहिनी ११ वर्षीय दिप्सन साँवा र अढाइ वर्षकी प्रिन्साको मृत्यु भएको थियो । उनीहरु खेल्ने क्रममा सो बम पड्किएको बताइएको छ । उक्त बम माओवादी सशस्त्र द्वन्द्वको समयमा छुटेको अनुमान गरिएको थियो । उक्त घटनाबारे सरकारको ध्यानाकार्षण गराउँदै बर्तौलाले भने, ‘यस घटनामा जोडिएका दोषी को हो ? यो बारेमा सरकारले सदनलाई जानकारी गराउनुपर्छ । हामीले सुन्यौं, सशस्त्र द्वन्द्वकै समयमा विच्छ्याइएका, छोडिएका र फ्याँकिएका बमहरु अहिले आएर विष्पोट भयो । यदि त्यसो हो भने यो घटनाप्रति जवाफदेही को हुनुपर्ने हो ? कसले जिम्मा लिनुपर्ने हो ? सामान्यतः राज्यपक्षबाट यस प्रकारको बेवारिसे बमहरु छोडेर हिँड्ने हामी देख्दैनौं, सुन्दैनौं ।’ File Photo/RN