Logo

प्रधानमन्त्री ओली बराबर झुठ बोल्ने मान्छे कोही छैनः ज्ञानबहादुर शाही



काठमाडौं, २४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओली जत्तिको झुठ बोल्ने मान्छे आफूले अरु नपाएको टिप्पणी गरेका छन् । आज (सोमबार) प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले प्रधानमन्त्री ओलीले अन्तिम समयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दिक्षान्त समारोह नै रोकिदिएको भन्दै आक्रोश व्यक्त गरेका हुन् । दिक्षान्त समारोहका लागि पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरका विद्यार्थीहरु जुम्ला गएको र अन्य पाहुनाहरु समेत गइसकेको अवस्थामा प्रधानमन्त्रीले ‘म भ्याउँदिन, कार्यक्रम सार्नु’ भनी खबर पठाएको शाहीको भनाइ छ । उनले सो खर्च प्रधानमन्त्रीको व्यक्तिगत सम्पत्तिबाट असुरउपर गर्न पनि माग गरे ।

‘देशको प्रधानमन्त्री बराबर झुट बोल्ने मान्छे नेपालमा कोही पनि छैन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दिक्षान्त समारोह भन्दै ५६ जना विद्यार्थी, पूर्वको झापादेखि, पश्चिमको कञ्चनपुरका विद्यार्थी जुम्ला गए । त्यतिमात्रै होईन, डा. सन्दुक रूइत जानुभयो ।’ उनले भने, ‘हामीहरु गयौं, स्वास्थ्य सचिव जानुभयो । अन्तिम समयमा आएर के भन्दिनुभयो ‘म आउँदिन, दिक्षान्त समारोह पछाडि सार । हुकुमी शासन हो ? त्यहाँ गरेको खर्च प्रधानमन्त्रीको व्यक्तिगत सम्पत्तिबाट असुलउपर गर्नुपर्छ ।’

प्रधानमन्त्री विरामी भएको, मौसम खराबी भएको भए आफूले स्वीकार गर्नुपर्ने बताउँदै उनले कार्य व्यवस्ता भन्दै पछिल्लो समयमा कार्यक्रम स्थगित गरिएकोमा उनले आक्रोश ब्यक्त गरे । ‘भ्यूव टावर भएको भए डौडिएर जानुहुन्थ्यो होला । विश्वविद्यालयमा जानुभएन,’– उनले भने ।

साथै, उनले नेपाली कांग्रेस र नेकपा (एमाले) लाई आफ्नो भातृ संगठनलाई सम्हाल पनि सुझाव दिए । ‘नेपाली कांग्रेस र नेकपा (एमाले) ले भातृ संगठनलाई सम्हाल्नुस् । कि त भातृ संगठन नभन्नुस्, गुण्डाहरुको संगठन भन्नुस् ।’ File Photo



प्रतिक्रिया दिनुहोस्