Logo

सहकारीलाई ध्वस्त बनाउने कांग्रेस-एमालेका भ्रष्ट नेताहरु हुन्ः रास्वपा नेता पराजुली (भिडिओसहित)



काठमाडौं, २५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधि सभा सदस्य गणेश पराजुलीले कांग्रेस–एमालेका नेताहरुले नै सहकारीलाई ध्वस्त बनाएको आरोप लगाएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले ९ खर्ब रकम परिचालन भएको सहकारीलाई ध्वस्त बनाउन कांग्रेस–एमालेका भ्रष्ट नेताहरुको हात रहेको बताएका हुन् । उनले कांग्रेस–एमालेका नेताहरुले सहकारी ठगेको बारेमा मिडियाहरुले समाचार नलेखेको भन्दै आपत्ति जनाए ।

‘यो कुरा हामीलाई धेरै अगाडिदेखि थाहा थियो । मलाई मात्रै होईन, मिडिया जगत सबैलाई प्रष्टसँग थाहा छ । कसैलाई पनि उहाँहरुको विरुद्धमा आवाज उठाउने दम छैन । नेपाली कांग्रेस, एमालेका नेताहरुले सहकारी कति ठगेका छन् ? ९ खर्ब रकम परिचालन भएको यो सहकारीलाई ध्वस्त बनाउने भ्रष्ट नेताहरु कांग्रेस–एमालेका नेताहरु हुन् कि होईनन् ?’ उनले प्रश्न गरे ।

उनले रास्वपाका सबै नेताहरु सहकारीका बचतकर्ताहरुले पैसा फिर्ता पाउनुपर्छ भन्ने पक्षमा रहेको बताए । आफूहरु दिनरात पीडितको पक्षमा वकालत गर्न तयार रहेको बताए । उनले रास्वपाका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा दोषी करार गरेर जेल हाल्न चुनौति दिए । दोषी प्रमाणित भएको खण्डमा आफूहरुको कुनै गुनासो नरहने उनको भनाइ छ । ‘रास्वपाका सभापतिमात्रै होईन, कुनै पनि नेतालाई अनुसन्धान गर्नुस् र दोषी करार गरेर जेल हाल्नुुस् । हामी सजाय भोग्न तयार छौं,’– उनले भने ।

फरक प्रसंगमा नेता पराजुलीले संविधान संशोधनको लागि जनताको म्यान्डेट नै नरहेको बताए । संविधान संशोधनबारे जनताको म्यान्डेट नरहेको विषयमा व्यापक छलफलपछि मात्रै रास्वपाले आफ्नो धारणा बनाउने उनको भनाइ छ ।

‘उहाँहरु भोट माग्नका लागि जनतामा कुन म्यान्डेट लिएर जानुभएको थियो ? उहाँहरुले जनताबाट त्यो म्यान्डेट लिएर आउनु भएको हो कि होईन ? यो चाहीँ सोचनीय विषय हो । तर, संविधान अकाट्य होईन, यो परिवर्तनशील छ । आवश्यक्ताअनुसार संशोधन गर्न सकिन्छ । संशोधन कुन विषयमा गर्ने हो ? संशोधन कस्ता विषयमा गर्ने हो भन्ने कुराको छलफल व्यापक रुपमा चाहिन्छ । के यी जनताको माग हुन्, अथवा राजनीतिक दलका आफ्नो स्वार्थका लागि गर्दैछौं ? यो विषयमा प्रष्ट भएपछि हामी आफ्नो धारणा बनाउछौं,’– उनले भने ।

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र उनकी पूर्व श्रीमती ज्योति गुरुङले ललितपुरस्थित मितेरी सहकारीको १५ करोड ठगी गरेको आरोप लागेको छ । सो विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) र सहकारी ठगी छानविन गर्न बनेको संसदीय विशेष समितिमा पनि उजुरी परेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्