काठमाडौं, २५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले सत्तारुढ दलहरुले उपसभामुख इन्दिरा रानालाई महाअभियोग लगाएर हटाउने तयारी थालेको भन्दै आपत्ति जनाएका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले संवैधानिक परिषद्मा सत्तारुढ दलको बहुमत नपुगेपछि अनेक जालझेल रचेर उपसभामुख रानालाई हटाउने तयारी भइरहेको भन्दै उनले आपत्ति जनाएका हुन् । उपसभामुखलाई महाअभियोग लगाउनेजस्तो कुरा राजनीतिक दलहरु बसेर सल्लाह गर्नु लोकतन्त्रका लागि कहिले पनि मान्य नहुने उनले बताए ।
‘आज सम्मानित पदलाई परिषद्मा आफ्नो बहुमत पुग्दैन भनेर लोकतन्त्रका लागि लडेका, आफूलाई मसिहा भन्ने राजनीतिक पार्टीहरु सल्लाह गरेर उपसभामुखलाई पदबाट हटाउने तयारी गर्दैहुनुहुन्छ । स्मरण रहोस्, राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा राजनीतिक मुद्दा गुमाउला तर लोकतन्त्रका लागि राष्ट्रिय स्वतन्त्र पार्टी सधैं लड्नेछ । जनताको पक्षमा लड्नेछ । के नेपाली लोकतन्त्र यति कमजोर हो ? लोकतन्त्रमाथि धावा नबोल्नुस्, आज सहज होला, भोलि तपाईहरुलाई नै अप्ठ्यारो पर्ला । यो हाँस्ने कुरा होईन, सल्लाह गर्ने कुरा पनि होईन । लोकतन्त्रलाई यसरी सल्लाह गरेर मारिन्छ भने तमाम नेपाली जनताहरु सडकमा ओर्लिने छन् । राजनीतिक पार्टीहरुको विरुद्ध आन्दोलन गर्नेछन्,’–उनले भने ।
युवा पुस्ताको राजनीतिक चेतनामाथि प्रतिबन्ध लगाउने, लोकतन्त्रलाई मार्ने, जनताको संवैधानिक अधिकारलाई हनन गर्ने प्रयास आफूहरुलाई स्वीकार्य नरहेको उनले बताए । नेता परियारले आफूले खनेको खाल्डोमा आफैैं पर्ने काम नगर्न सत्तारुढ दलहरुलाई सुझाव दिए । संख्याको भरमा मात्रै राजनीति चल्छ भन्ने भ्रमबाट मुक्त हुन पनि उनले आग्रह गरे । जनताको सार्वभौम सत्ता अगाडि संख्याको केही नचल्ने उनको चेतावनी छ । ‘लोकतन्त्रको उन्नत अभ्यास हुनुपर्छ । संख्याका नाममा मात्रै, सत्ता शक्तिका नाममा मात्रै यो राज्य चल्छ र जे पनि गर्न सकिन्छ भन्ने तपाईँहरुको बुझाईँ हो भने जनताको सार्वभौम सत्ता अगाडि कुनै पनि सत्ता संसारमा टिकेको छैन,’– उनले भने । Photo by: Mukunda Kalikote/Reporters Nepal