Logo

उपसभामुख रानाले मार्गप्रशस्त गर्दा नै संसद्को गरिमा बढ्छः एमाले नेता गिरी



काठमाडौं, २५ भदौ । नेकपा (एमाले) का नेता एवं पूर्व मन्त्री पदम गिरीले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले मार्गप्रशस्त गर्नुपर्ने कुरामा आफूहरुले कुनै प्रतिशोध नराखेको बताएका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले उपसभामुख रानाले पदीय मर्यादाअनुकूल काम गर्न नसकेकाले आफूहरुले राजीनामा मागेको बताएका हुन् । उनले उपसभामुख रानाले संसदको गरिमा बचाउनका निमित्त पनि पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताए ।

‘यो कुनै प्रतिशोधको कुरा होईन, उपसभामुखज्यूले आफ्नो पदीय मर्यादाअनुकूलको काम गर्न सक्नुभएन । यो सम्मानित संसद्को मर्यादा र गरिमालाई कामय राख्न सक्नुभएन । त्यसकारणले गर्दाखेरी, आजसम्म हामीले हेर्यौं, यो धेरै लामो समय पनि भयो । करिब ३/४ महिनाको अवधिमा उहाँले सोच विचार गर्नुहोला, उहाँ आवद्ध रहेको दलसँग पनि बसेर छलफल गर्नुहोला र त्यसपछि निकास दिनुहोला भन्ने हामीलाई लागेको थियो ।’ उनले भने, ‘यतिका समयसम्म हामीले हेर्यौं । कुनै पनि कदम नचालिसकेपछि स्वभाविक रुपलले यो बाहिर, बजारको चासोको विषय बन्यो । उपसभामुखले यो संसदको गरिमालाई बचाउनका निमित्त पनि राजीनामा दिएर मार्गप्रशस्त गर्दा सिंगो संसद्को शिर उँचो हुन्छ ।’

त्यस्तै, उपसभामुख राना संसद्मा प्रतिनिधित्व गरेको दल राष्ट्रिय स्वतन्त्र पार्टीले राजीनामा माग्नुलाई लोकतन्त्रमाथिको हमला भनेको स्मरण गराउँदै उनले कुन लोकतन्त्रका लागि लड्नुभएको थियो र लोकतन्त्र बचाउने कुरा गर्दै हुनुहुन्छ ? भनेर प्रश्न गरे । उनले रास्वपाका सांसदहरुलाई अभिजात वर्गका छोराछोरीको संज्ञा दिए । वर्तमान व्यवस्था गरिब, श्रमजीवी र उत्पीडनमा परेका जनताले लडेर ल्याएको बताउँदै उनले बचाउनुपर्ने दिन आएको खण्डमा उनीहरुले नै बचाउने बताए ।

‘उहाँ जुन दलबाट संसद्मा प्रतिनिधित्व गर्नुहुन्छ, त्यो दलका माननियज्यूहरुले भन्नुभयो– यो लोकतन्त्रमाथिको हमला हो, संघीयतामाथिको हमला हो । म साथीहरुलाई भन्न चाहन्छु, कुन चाहीँ लोकतन्त्रका लागि लड्नु भएको थियोृ र यहाँहरुले त्यो लोकतन्त्र बचाउने ठेक्का लिनुभएको छ ?’ प्रश्न गर्दै उनले भने, ‘संसारका महँगा विश्वविद्यालयहरुमा हजारौं डलर खर्च गरेर पढेका अभिजात वर्गका छोराछोरीले लडेर मुलुकमा यो लोकतन्त्र, गणतन्त्र ल्याएको होईन । यो देशका गरिब, श्रमजीवी र उत्पीडनमा परेका जनताहरुले लडेर ल्याएको यो लोकतन्त्र र परिवर्तन हो । कसैले चिन्ता गर्नुपर्छ भन्ने म ठान्दिनँ ।’ File Photo/RN



प्रतिक्रिया दिनुहोस्