Logo

लिपुलेक, लिम्पियाधुरा र कालापानीमाथि भारतको दाबी पुग्छः मेटमणि चौधरी (भिडिओसहित)



काठमाडौं, २६ भदौ । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीले लिपुलेक, लिम्पियाधुरा र कालापानीमाथि भारतले दाबी पुग्ने बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस्तो बताएका हुन् । नेता चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुले पहिला महाकाली भारतलाई बेचेर आज जनतालाई बेबकुफ र भ्रमित बनाउनका लागि चुच्चे नक्सा निकालेको बताएका हुन् । उनले चुच्चे नक्सा निकाले पछि भारतलाई कति पटक डिप्लोमेटिक नोट पठाइयो ? भनी प्रश्न गरे ।

‘महाकाली सन्धीपछि भारतले महाकाली नदी मेरो पनि आधा हो भनेर दाबी गर्न थाल्यो । महाकाली सन्धि गर्ने सन्दर्भमा तत्कालीन नेकपा (एमाले) का को–को नेताहरुको ठूलो भूमिका थियो ? हामीले तथ्याङ्कमा कुरा गर्नुपर्छ । त्यसबेला त त्यो प्राप्त हुन्छ, यो प्राप्त हुन्छ, यसो हुन्छ, त्यसो हुन्छ गफ दिनुहुन्थ्यो । आज चुच्चे नक्सा ल निकाल्यो रे । पहिला नदी बेच्ने, त्यही नदी बेचेकै कारणले लिपुलेक, लिम्पियाधुरा र कालापानीमाथि भारतले दाबी गरिरहेको छ । मलाई लाग्छ, उसको दाबी पुग्छ, उसले लिन पाउँछ । त्यो भूमिका कसले निर्वाह गर्यो ? भारतको हो नि, बेच्ने अनि होईन भन्न मिल्छ । बेचिसकेपछि त्यो चुच्चे नक्सा, मेरो देशको नक्सा भन्न मिल्छ । यस्तो फटाहगिरी काम कसैले गर्न हुँदैन । त्यसबेला नेकपा (एमाले) को भूमिका थियो, गल्ती थियो । कोशी नदी बेच्ने काम भयो, गण्डकी बेच्ने काम भयो,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्