Logo

सभामुखको उद्घोषः ‘हिंसा’ शब्द असंसदीय होईन



काठमाडौं, २६ भदौ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिनिधि सभामा सांसद योगेश भट्टराईले प्रयोग गरेको हिंसा शब्द संसदीय नै रहेको बताएका छन् । आज (बुधबार) प्रतिनिधि सभामा उनले विषय, प्रसंग र प्रस्तुतिलाई विचार गर्दा योगेश भट्टराईले प्रयोग गरेको हिंसा शब्द असंसदीय नदेखिएको बताएका हुन् ।

‘प्रतिनिधि सभा नियमावली २०७९ को नियम २१ मा भएको व्यवस्था, भदौ १८ गते बसेको कार्य व्यवस्था परामर्श समितिमा भएको छलफल र सचिवालयको रायसमेतको आधारमा विषय, प्रसंग र प्रस्तुतिलाई विचार गर्दा उक्त हिंसा शब्द असंसदीय नदेखिएको हुँदा संसद्को अभिलेखबाट हटाउन नपर्ने व्यहोरा जानकारी गराउँछु,’– सभामुख घिमिरेले भने ।

भदौ १२ गतेको प्रतिनिधि सभाको बैठकमा योगेश भट्टराईले विशेष समयमा बोल्ने क्रममा नेकपा (माओवादी केन्द्र) लाई लक्षित गरी हिंसा शब्द प्रयोग गरेका थिए । उक्त शब्दबारे माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाएका थिए । उक्त शब्द असंसदीय रहेकाले संसदको अभिलेखबाट हटाउनुपर्ने माओवादीको माग थियो ।



प्रतिक्रिया दिनुहोस्