Logo

प्रधानमन्त्री ओलीलाई रविको चेतावनी, ‘उपसभामुखलाई महाअभियोग लगाउनु तपाईँलाई नै घातक हुन्छ’



काठमाडौं, २६ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उपसभामुख इन्दिरा रानाबारे सरकारले चाल्न लागेको कदमबारे जानकारी लिएका छन् । हिजो (मंगलबार) साँझ प्रधानमन्त्री ओली भेट्न लामिछाने बालुवाटार पुगेका थिए । सभापति लामिछानेले आज पार्टी सचिवालय बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्रीसँग हिजो भेट भएको र उपसभामुख रानाबारे सरकारले चल्न लागेको कदमबारे छलफल गरेको बताएका हुन् ।

आफूले प्रधानमन्त्री ओलीलाई भेटेर उपसभामुख रानालाई महाअभियोग लगाउने सोचिरहेको भए त्यो घातक हुने बताएको उनले सुनाए । ‘उहाँलाई मैले सौहार्दपूर्ण रुपमा यो गलत हुन्छ, यो यदि सत्य हो भने, जे सोचिरहनु भएको छ, त्यो अत्यन्त गलत हुन्छ र यो घातक हुन्छ भनेर मैले उहाँलाई बनाएँ,’– लामिछानेले भने ।

आफूलाई प्रधानमन्त्रीले ‘म छलफलमा छु, नेपाली कांग्रेससँग पनि छलफल गर्छु’ भनेको उनले बताए । उपसभामुख रानाले पदीय मर्यादा र गरिमा जोगाउन नसकेको सत्तारुढ दलका नेताहरुको आरोप छ । उपसभामुख रानाले अमेरिकामा आयोजित एक कार्यक्रममा सहभागी हुन केही युवाहरुलाई भिसा सहजीकरण गरिदिन भन्दै अमेरिकी दूतावासलाई पत्र लेखेपछि उनी विवादमा छन् । सत्तारुढ दलले उनलाई मार्ग प्रशस्त गर्न भनिरहेको छ । राजीनामा दिएर मार्ग प्रशस्त नगरे महाअभियोग लगाउने सत्तारुढ दलको तयारी छ ।



प्रतिक्रिया दिनुहोस्