Logo

मलाई सहकारी ठग प्रमाणित गर्नेको घरमा जीवनभर दास भएर बस्न तयार छुः ऋषिकेश पोखरेल (भिडिओसहित)



काठमाडौं, २९ भदौ । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले सहकारी ठगीमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूलाई कसैले सहकारी ठग प्रमाणित गरेको खण्डमा उसको घरमा जीवनभर दास भएर बस्न तयार रहेको बताए । केही माओवादीका मुखपत्रले आफूविरुद्ध भ्रम फैलाएको उनले बताए ।

‘मैले र मेरो परिवारले सहकारीको नामबाट बेइमानी गरेर एक रुपैयाँ पैसा कसैले खाएको प्रमाणित गरिदिए त्यो प्रमाणित गरिदिनेको घरमा जीवनभरी दास भएर बस्छु । यो माओवादी साथीहरुको प्रचार हो । हामी पत्रपत्रिका भन्छौं, माओवादीको मुखपत्रले यो बीचमा मैले भ्रष्टाचारविरुद्ध चलाएको अभियानलाई रोक्न भ्रम फैलायो,’– उनले भने ।

साथै, उनले आफ्नो गाउँमा सहकारीको सदस्य नभएको मानिस कमै रहेको बताए । उनले आफूले १० वटाभन्दा बढी सहकारी स्थापना गरेको बताए । उनले एउटै सहकारीमा आफू १० वर्षसम्म अध्यक्ष भएको पनि उनले सुनाए । आफू र आफ्नो परिवारको कुनै सदस्यले सहकारी, व्यक्ति र कुनै संघ÷संस्थाको एक रुपैयाँ पैसा नखाएको दाबी गरे । उनले

‘म गाउँको मान्छे हो । हाम्रो गाउँमा सहकारीको सदस्य नभएको मान्छे कमै भेटिन्छन् । म नै १० वटाभन्दा बढी सहकारीहरु स्थापना गराउने र एउटा सहकारीमा १० वर्षभन्दा बढी अध्यक्ष भएर काम गरेको मान्छे हुँ । जसको बैंकसँग पहुँच छैन, जसले बैंकसँग कारोबार गर्न सक्दैनन्, आम गरिबहरुको समूह, गाउँमा सदस्यहरुको सहकारी, समुदायमा आधारित सहकारी हामीले सञ्चालन गर्दै आएको हो ।’ उनले भने, ‘मेरो श्रीमती कुनै सहकारीको सदस्य हुनुहोला । सहकारीको सदस्य हुन नपाउने कुन कानुनमा छ ? सहकारीको सदस्य हुनुभयो । जसले फट्याइँ गर्यो, जुन औंलामा घाउ लाग्छ, त्यही औंलो झर्छ । जसले फट्याइँ गर्यो उ दण्डित हुन्छ । आम जीवनमा मैले र मेरो श्रीमतीले सहकारी, संघसंस्था वा व्यक्ति कसैको एक रुपैयाँ पैसा खाएको छैन । नतिरेको छैन ।’

नेता पोखरेलविरुद्ध मोरङको धनपालथान–४ कर्सियास्थित उमा गौरी कृषि सहकारीको १४ करोड ५६ लाख अपचलनमा संलग्न रहेको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्