Logo

उपसभामुख रानाको राजीनामा माग्न प्रधानमन्त्रीदेखि लेखा समितिका सभापतिले राजीनामा दिनुपर्ने माओवादीको माग



काठमाडौं, २९ भदौ । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य अमनलाल मोदीले भोलिदेखि संसद् चल्न नदिने बताएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले शान्ति प्रक्रियामार्फत टुङ्गिएको विषयलाई सत्तारुढ दल एमालेले संसद्मा हिंसाको संज्ञा दिएको बताए । हिंसा शब्द संसद्मा प्रवेश गराएर शान्ति प्रक्रिया भाँड्न खोजिएको उनको आरोप छ । नेता मोदीले विवादित विषयका सन्दर्भमा संसदमार्फत निराकरण नखोजिएसम्म संसद चल्न नसक्ने बताए ।

साथै, संवैधानिक परिषद्मा बुहमत पुर्याउन उपसभामुख इन्दिरा रानालाई वर्तमान सरकारले हटाउने खोजेको उनको भनाइ छ । उपसभामुख रानामाथि लागेको आरोपको छानविन हुनुपर्छ भन्ने पक्षमा आफूहरु रहेको उनले बताए । उपसभामुख रानामाथि छानविन हुँदै गर्दा गिरीबन्धु टी स्टेट प्रकरणमा जोडिएका प्रधानमन्त्री केपी शर्मा ओली, नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएकी परराष्ट्रमन्त्री आरजु राणा देउवा, आईजीपीको जिब्रो थुत्नुपर्ने भन्ने सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएर छानविनका लागि मार्ग प्रशस्त गर्नुपर्ने उनको माग छ ।

‘हामीले संसदीय दलबाट निर्णय गरेर जुन विषय उठाएका छौं, भ्रष्टाचारको विरुद्धमा फाइलहरु खोल्ने कि नखोल्ने ? भुटानी शरणार्थीका पात्रहरुलाई कारबाही गर्ने कि नगर्ने ? उपसभामुखलाई कारबाही गर्ने, माओवादीको क्रान्ति, आन्दोलनलाई, टुङ्गो लागिसकेको विषयलाई हिंसा भन्ने शब्द संसदमा प्रवेश गराएर भाँड्न खोज्ने ? यी विषय जबसम्म निराकरण हुँदैन र देश र जनताको हितमा जबसम्म यो सरकारले काम गर्न सक्दैन, तबसम्म यो सदन चल्न सक्दैन,’– नेता मोदीले भने ।

त्यस्तै, सहकारी ठगीमा नाम मुछिएका प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले पनि राजीनामा दिनुपर्ने उनले बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्