Logo

संसद् सुचारु गर्न सभामुख र योगेशमध्ये एकले गल्ती सच्याउनुपर्ने माओवादीको अडान



काठमाडौं, ३० भदौ । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य माधव सापकोटाले माओवादी सशस्त्र संघर्षलाई लक्षित गरी एमाले नेता एवं सांसद योगेश भट्टराईले दिएको अभिव्यक्ति नसच्याएसम्म संसद् बैठक अगाडि नबढ्ने बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले ‘हिंसा’ शब्दलाई लिएर सभामुख अथवा योगेश भट्टराई ब्याक हुनुपर्ने बताएका हुन् । नेता सापकोटाले सभामुख देवराज घिमिरेले तटस्थ भूमिका निर्वाह गर्न नसकेको उनको भनाइ छ ।

‘कि प्रक्रिया मिलेन, म सच्याउँछु भनेर सभामुखले प्रक्रिया सच्याउनुपर्यो । कि त योगेश भट्टराईले मैले दिएको अभिव्यक्तिले तपाईँहरुलाई असर परेको भए म सच्याउँछु भनेर सच्याउनुपर्यो । सभामुखले वा योगेशजीले कसैले सच्याउनुभयो भने संसद् अगाडि जान्छ । भएन भने नियमावलीले दिएको व्यवस्था बमोजिम प्रतिकार गर्छौं,’– उनले भने ।

कुनै व्यक्ति वा संस्थाहरुलाई उपेक्षा गर्ने, अपमान गर्ने, हेलाहोचा गर्ने आशयका साथ आफ्ना विचार भावना प्रकट गर्न नियमावलीले रोकेको उनले बताए । नेता सापकोटाले योगेश भट्टराईबाट माओवादी जनयुद्ध र माओवादीहरुलाई तेजोबध गर्ने, होच्याउने, डोमिनेट गर्ने, हुर्मत लिने हिसाबले अपमानजनक अभिव्यक्ति आएको बताए । माओवादी सशस्त्र संघर्ष राजनीतिक आन्दोलन हो भनेर नेपाली समाज र राजनीतिक दलहरुले स्वीकार गरिसकेको अवस्थामा योगेशले विषय गिजोल्न खोजेको उनको आरोप छ । यस्ता प्रकारको प्रवृत्तिको सधैं प्रतिकार गर्ने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्