Logo

माओवादीले सभामुखविरुद्ध आन्दोलन गर्छौं भन्नु दादागिरीको पराकाष्ट होः एमाले प्रमुख सचेतक बर्तौला (भिडिओसहित)



काठमाडौं, ३० भदौ । नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले माओवादीले सभामुखविरुद्ध आन्दोलन गर्छौं भनेर दादागिरी देखाएको टिप्पणी गरेका छन् । संसद्को नेता सभामुख हुने र सभामुखले भनेको सबैले मान्नुपर्ने बताउँदै उनले सभामुखविरुद्ध आन्दोलन गर्छौं भन्नु अराजकता हुने बताएका हुन् ।

‘उहाँहरुले गरेको कुरै मिलेन । हामी संसदलाई व्यवस्थित रुपमा अगाडि लान चाहन्छौं । सभामुखको विरुद्धमा आन्दोलन भनेको के हो ? उहाँहरुले बैठक चल्न दिन्नँ भनेको सभामुलाई अस्वीकार गर्छौं भन्न खोज्नुभएको होईन ? यस्तो भन्न मिल्छ भनेको ? कुन नियमावलीअनुसार, संविधानको कुन धारा बमोजिम सभामुखको विरुद्धमा उहाँहरुले संसद्मा आन्दोलन गर्नुहुन्छ ? सभामुखले भनेको नमान्ने हो भने कसले चलाउने हो संसद् ? यो त उहाँहरुको दादागिरीको पराकाष्ट भएन ? यसरी सभाखुलाई धम्क्याउने, चेतावनी दिने कुरा मिलेन । उहाँहरुले सच्याउनुपर्छ भन्ने हाम्रो आग्रह हो,’– नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।

एमाले सांसद योगेश भट्टराईले संसद्मा सम्बोधन गर्ने क्रममा माओवादी सशस्त्र संघर्षलाई हिंसाको संज्ञा दिएका थिए । उक्त शब्दलाई लिएर माओवादीले नियमापत्ति जनाएको थियो । नियमापत्तिलगत्तै सभामुख देवराज घिमिरेले छानविनको लागि संसद् सचिवाललाई निर्देशन दिएका थिए । अघिल्लो संसद्मा सभामुख घिमिरेले योगेशले बोलेको हिंसा शब्द संसदीय नै रहेको बताएका थिए ।

सरकारमाथि हिलो छ्याप्ने कुनै मुद्दा नभएपछि माओवादी सभामुखको विरुद्धमा लागेको उनको आरोप छ । बिस्तृत शान्ति सम्झौताले नै माओवादी सशस्त्र संघर्षलाई हिंसाको रुपमा स्विकार गरेको उनको दाबी छ । माओवादीले यो विषयलाई अनावश्यक रुपमा मसला बनाएको र शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्याउन नदिन खोजेको हो कि भन्ने आफूहरुलाई लागेको उनले बताए । File photo/RN



प्रतिक्रिया दिनुहोस्