Logo

सभामुखले बोलाएको राष्ट्रिय दलका प्रमुख सचेतकको बैठक जारी



काठमाडौं । प्रतिनिधि सभाको गतिरोध अन्त्य गर्न सभामुख देवराज घिमिरेले डाकेको प्रमुख दलहरुको प्रमुख सचेतक र सचेतकको छलफल सुरु भएको छ । सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा बैठक सुरु भएको हो ।

आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्नुअघिनै सहमति जुटाउन घिमिरेले सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेससहित माओवादी केन्द्र, रास्वपा र राप्रपाका प्रमुख सचेतक र सचेतकसँग छलफल गर्न लागेका हुन् ।

बैठकमा उपसभामुख इन्दिरा रानासहित नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौला, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलगायत सहभागी छन् ।

सभामुखले भदौ २६ गतेको बैठकमा नेकपा एमालेका सांसद योगेश कुमार भट्टराईले भदौ १२ गते प्रतिनिधिसभा बैठकमा प्रयोग गरेको ‘हिंसा’ शब्द हटाउन नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले गरेको नियमापत्तिको निर्णय गरेका थिए । निर्णयमा असहमति जनाउँदै संसद अवरोध भएको थियो ।

माओवादीले संसदको रेकर्डबाट उक्त शब्द नहटाएसम्म संसद अवरोध गर्ने चेतावनी दिएपछि सभामुखले राष्ट्रिय दलहरूको बैठक बोलाएका हुन् । Photo By: Mukunda Kalikote/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्