Logo

सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, माओवादीले सदनमा अवरोध कायमै राख्ने



काठमाडौं । प्रतिनिधिसभाको गतिरोध हटाउने विषयमा सभामुखले बोलाएको बैठक विना निष्कर्ष टुंगिएको छ । सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख समेतक र सचेतकहरुलाई बोलाएका थिए ।

बैठकमा उपसभामुख इन्दिरा रानासहित नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलगायत सहभागी थिए ।

सभामुखले भदौ २६ गतेको बैठकमा नेकपा एमालेका सांसद योगेश कुमार भट्टराईले भदौ १२ गते प्रतिनिधिसभा बैठकमा प्रयोग गरेको ‘हिंसा’ शब्द हटाउन नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले गरेको नियमापत्तिको निर्णय गरेका थिए । निर्णयमा असहमति जनाउँदै संसद अवरोध भएको थियो ।

माओवादीले संसदको रेकर्डबाट उक्त शब्द नहटाएसम्म संसद अवरोध गर्ने चेतावनी दिएपछि सभामुखले राष्ट्रिय दलहरूको बैठक बोलाएका थिए ।

सभामुखले डाकेको बैठक निष्कर्षवीहिन भएसँगै माओवादीले आजको सदनको बैठक पनि अवरोध गर्ने भएको छ । दिउँसो १ बजेका लागि डाकिएको बैठक दलहरुबीच सहमति जुट्न नसक्दा हालसम्म सुरु हुन सकेको छैन् ।

यसैबीच प्रतिनिधिसभा बैठक १ घण्टा सारिएको छ । दिउँसो १ बजेका लागि तय बैठक माओवादीले आन्तरिक छलफलका लागि समय मागेपछि दिउँसो २ बजेलाई सारिएको हो । माओवादी सशस्त्र द्वन्द्व ‘हिंसा’ थियो कि ‘जनयुद्ध’ भन्ने विवादमा फस्दा सदन २६ गतेबाट अवरुद्ध बनेको थियो । आज सचेतक र सभामुखबीच सदन खुलाउने विषयमा भएको छलफलमा माओवादीलाई पार्टीलाई आन्तरिक छलफलका लागि १ घण्टा समय दिइएको छ ।



प्रतिक्रिया दिनुहोस्