Logo

उपसभामुख रानालाई हटाउने प्रयास असफल भएपछि कांग्रेस-एमालेको बोली फेरियो



काठमाडौं,३० भदौं । संवैधानिक परिषद्मा सत्ता पक्ष अल्पमतमा परेपछि बहुमत जुटाउने उदेश्यस्वरुप उपसभामुख इन्दिरा रानालाई हटाएर नयाँ उपसभामुख ल्याउने सत्तापक्षको प्रयास तत्कालका लागि असफल भएको छ ।

गत वर्ष ५ नेपाली युवालाई आफूसँगै अमेरिका लान अन्तर्वार्ताको मिति अगाडि सारिदिन उपसभामुख रानाले अमेरिकी दूतावासलाई पत्र लेखेको थिइन् । पत्र पदीय मर्यादाविपरीत भएको भन्दै कांग्रेस र एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उपसभामुख बनेकी रानालाई हटाउन खोजेका थिए ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा सत्तापक्षभन्दा प्रतिपक्षी बलियो अवस्थामा छ । प्रमुख प्रतिपक्षी दलको नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र उपसभामुख राना एउटा कित्तामा हुँदा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे एउटा कित्तामा छन् । सर्वोच्च अदालतका प्रधानन्यायाधीश पनि परिषद्को सदस्य रहन्छन् तर उनी तटस्थ भूमिकामा रहने भएकाले सत्तापक्षको बहुमत छैन् । रानालाई हटाएर नेपाली कांग्रेसलाई उपसभामुख दिने सरकारको योजना थियो । तर, तत्कालका लागि यो योजना तुहिएको नेताहरु बताउँछन् ।

रानालाई यहि महिनाभित्र नै संसद्मा दुईतिहाई पुर्याएर हटाउने सत्तापक्षको प्रयास थियो । प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुईतिहाई बहुमत पनि थियो । सोही अनुसार अघिल्लो प्रतिनिधि सभा बैठकमै नेकपा कांग्रेस र एमालेका केही सांसदले हस्ताक्षरसमेत गरेका थिए । सत्तापक्षले उपसभामुख हटाउने हस्ताक्षर संकलन गरिरहँदा संसद्मा चर्को विरोध समेत भएको थियो । नेकपा माओवादी केन्द्रसहित रास्वपा, राप्रपा र नेकपा एसले उपसभामुख हटाउन खोजे शसक्त प्रतिवाद गर्ने चेतावनी दिएका थिए ।

एमालेले संसदबाट राजीनामा माग्दा कांग्रेसले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक गरेर उपसभामुखले राजीनामा दिन उचित भएको निर्णय गरेको थियो । तर कांग्रेसको सोही बैठकमा डा शेखर कोइराला पक्षका अर्जुननरसिंह केसीसहितका नेताले हतारमा दुई–तिहाइले हटाउने स्थितिमा पुग्न नहुने सुझाव दिएका थिए । यतिमात्रै होइन कांग्रेस र एमालेले दुई–तिहाइ पुग्ने दाबी गरे पनि जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले भने शर्त राखेर दबाब बढाएका थिए । कांग्रेसमै पनि हस्ताक्षर जुटाउने अभियानमा शेखर–गगन समूहले असहयोग गरेको कांग्रेसभित्र चर्चा चलेको छ ।

सहजै दुईतिहाई पुर्याउन सकिने विश्वाससहित प्रक्रिया अघि बढाउन सत्तारुढ दुई दलले प्रयास गरेपनि सत्ताका सारथी दलहरुको दरिलो साथ नहुँदा तत्काललाई यो प्रयास असफल भएको छ । यता प्रयास असफल भएपछि सत्तापक्षका नेताहरुले भने आफ्नो बोली फेरेका छन् । आइतबार सभामुख देवराज घिमिरेले सदनमा देखिएको गतिरोध हटाउन डाकेको बैठकबाट बाहिरिँदै एमाले मूख्य सचेतक महेश बर्तौलाले उपसभामुख हटाउन नखाजेको जिकिर गरेका छन् ।

‘कुनै विषय अगाडि बढाउन खोजिएकै छैन र थिएन, रास्वपाका प्रमुख सचेतकले सरकारलाई हिलो छ्याप्न खोज्नुभयो। प्रतिपक्षी दलबाट पनि बोल्ने काम भएपछि हाम्रो तर्फबाट पनि प्रतिवाद भएको हो,’ बर्तौलाले भने।

त्यस्तै, सत्तारुढ दलबीचमा उपसभामुख रानाको बारेमा कुनै निर्णय नभएको उनले बताए । यो विषय प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्र र रास्वपा स्वयंले उठाएको बताउँदै उनले यसलाई कसरी निरुपण गर्ने भन्ने कुरा समयक्रममा अगाडि बढ्ने बताए । आफूहरु संसद् अन्त्य गर्नेतर्फ छलफल गरिरहेको उनले बताए । संसद्को अन्त्य र प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रय महासभामा सहभागी हुन जान लागेको बेलामा रास्वपा र प्रमुख प्रतिपक्षको तर्फबाट उपसभामुखको विषय मसला बनाइएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्