Logo

जीवनको उत्तरार्धमा छु तरपनि जनयुद्धको तयारीमा हिँडेकोजस्तो जोश आइरहेको छः प्रचण्ड



काठमाडौं, ३० भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिक्रियावादी र अवसरवादीहरुले नेपाल र नेपाली जनताको विरुद्धमा षड्यन्त्र गरिरहेको बताएका छन् । आज (आइतबार) झापाको विर्तामोडमा आयोजित राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिक्रियावादी र अवसरवादीहरुको विरुद्धमा आफूहरु रहेको बताए । उनले आफू जीवनको उत्तरार्धमा भएपनि प्रतिक्रियावादीको विरुद्धमा लागि रहेको बताए ।

आफू जीवनको उत्तरार्धतिर रहेपछि अहिले पनि जोश जनयुद्ध सुरु गर्दाको जस्तै रहेको बताए । समाजवादी क्रान्ति सुरु गर्न अगाडि सरेकोजस्तो जोश आफूमा आएको देखेर आफैंलाई अचम्म लागिरहेको पनि प्रचण्डले सुनाए ।

‘हुन त म जीवनको उत्तरार्धतिर गइसकेको छु, तर मलाई उत्तरार्धतिर गएजस्तो लाग्दैन । मलाई त जनयुद्धको तयारी गरेजस्तो, जनयुद्धको तयारीमा हिँडेकोजस्तो, फेरि एउटा समाजवादी क्रान्ति सुरु गर्न अगाडि सरेकोजस्तो जोश मलाई कहाँबाट आयो होला । मलाई देख्दा आफैंलाई कहिलेकाहीँ अनौठो लाग्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्