Logo

प्रस्तावित १७ देशका राजदूतबारे निर्णय गर्न संसदीय सुनुवाइ समितिको बैठक आह्वान



काठमाडौं । विभिन्न प्रस्तावित १७ देशका राजदूतबारे निर्णय गर्न संसदीय सुनुवाइ विशेष समितिको बैठक आह्वान भएको छ । यसअघि आइतबारका लागि डाकिएको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो । अब बैठक बुधबार बस्ने संसद् सचिवालयलले जनाएको छ ।

बुधबार बस्ने बैठकले राजदूतबारे निर्णय लिने छ । गत महिना सरकारले भारत र चीनसहित विभिन्न १७ देशका लागि नयाँ राजदूत सिफारिस गरेको थियो । सरकारले गएको साउन १४ गते एकसाथ १८ देशका निम्ति राजदूतमा विभिन्न व्यक्तिका नाम सिफारिस गरेको थियो । तीमध्ये एक जनाको नाम सरकारले फिर्ता लिएको थियो । सुनुवाइका निम्ति १७ जनाको नाम पठाइएको थियो ।

सरकारले चीनका लागि प्रा। डा। कृष्णप्रसाद ओली, डेनमार्कका निम्ति सुम्निमा तुलाधर, जर्मनीका लागि डा। शैल रुपाखेती, भारतका निम्ति डा। शंकर शर्मा, इजरायलका लागि प्रा। धनप्रसाद पण्डित, मलेसियाका निम्ति डा। नेत्रप्रसाद तिमल्सिना, पाकिस्तानका लागि रीता धिताल, पोर्चुगलका निम्ति प्रकाशमणि पौडेललाई सिफारिस गरेको थियो । त्यस्तै, कतारका लागि रमेशचन्द्र पौडेल, रुसका निम्ति जंगबहादुर चौहान, साउदी अरबका लागि नरेशविक्रम ढकाल, दक्षिण अफ्रिकाका निम्ति प्रा। डा। कपिलमान श्रेष्ठ, दक्षिण कोरियाका लागि डा। शिवमाया तुम्बाहाम्फे, स्पेनका निम्ति सनिल नेपाल, श्रीलंकाका लागि रामकृष्ण भट्टराई, बेलायतका निम्ति चन्द्रकुमार घिमिरे र अमेरिकाका लागि लोकदर्शन रेग्मी छन् ।

समितिले झण्डै १० दिन लगाएर १७ राजदूतसँग छलफल गरेको थियो । समितिले प्रस्तावित राजदूतसँगै परराष्ट्रमन्त्री डा आरजू राणा देउवासँग पनि छलफल गरेको थियो । त्यस्तै समितिले प्रस्तावित राजदूतबारे परेको उजुरीलाई लिएर कानुनका जानकारसँग पनि छलफल गरेको थियो। प्रस्तावित राजदूतमध्ये मलेसियाका लागि डा नेत्रप्रसाद तिम्सिना, भारतका लागि शंकरप्रसाद शर्मा र इजरायलका लागि धनप्रसाद पण्डित र दक्षिण अफ्रिकाका लागि सिफारिस भएका कपिल श्रेष्ठविरुद्ध उजुरी परेका छन्।



प्रतिक्रिया दिनुहोस्