Logo

१४ महिनादेखि तलव नपाए पनि काम गरिरहेका छन् सरकारी कर्मचारी !



काठमाडौं ८ चैत । तलव नपाएको १४ महिना भयो । तैपनि उत्साहसाथ कार्यालयमा काम गरिरहेका छन् । नियमित तलब पाइने ठाउँमा सरुवाको अवसर मिल्दा पनि जाँदैनन् ।

यति कर्तव्यनिष्ठ कर्मचारी कहाँ होलान् ?

यी कर्मचारी नेपालकै निजाती सेवाका हुन् । वैदेशिक रोजगार विभागको वैदेशिक रोजगार विभाग ताहाचलस्थित कार्यालयमा यस्ता करिब डेढ दर्जन कर्मचारी छन् । दरबन्दी बढी भएका १६ कर्मचारीलाई ६ देखि १४ महिनासम्मको तलव दिइएको छैन । तर पनि कर्मचारी गुनासो नगरी खुरुखुरु काम गरिरहेका छन् ।

यतिलामो समयसम्म तलव नपाउँदा पनि कर्मचारी किन काम गरिरहेका छन् त ? निमित्त कार्यालय प्रमुख प्रेमबहादुर देसार भन्छन्, ‘यो त बाध्यता हो ।’

कार्यालय प्रमुख देसारका अनुसार स्थानीय तहमा खटाइएका कर्मचारी पनि सरुवा बदर गराएका फर्किएका छन् । ‘केही कर्मचारीलाई सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा सरुवा गरेर यहाँ नयाँ कर्मचारी पठाएको थियो,’ उनले भने, ‘सामान्यले पठाएका नयाँ पनि आए र सरुवा गरिएका पुराना पनि फर्किए । त्यसो हुँदा धेरै कर्मचारी भएका हुन् ।’

देसारका अनुसार कार्यालयबाट स्थानीय तहमा गरिएको कर्मचारीको सरुवा सचिव मोहनकृष्ण सापकोटाले बदर गराइदिएका थिए । यसरी काज सरुवा गरेर आएका कर्मचारी तीन महिना अवधि सकिएपछि पनि नफर्किएको कार्यालयले जनाएको छ ।

यसकारण गुनासो नगरी काम गर्छन्

वैदेशिक रोजगार कार्यालयमा गैरकानूनी आर्थिक स्रोत गतिलो हुने भएकाले कर्मचारी अन्यत्र जान मान्दैनन् । राजनीतिक दबाबका कारण त्यहाँ बढी भएका कर्मचारीलाई अन्यत्र खटाउन नसकिएको सामान्य प्रशासन मन्त्रालय स्रोतले बतायो । –नयाँ पत्रिका दैनिकबाट



प्रतिक्रिया दिनुहोस्