Logo

प्रेमील राजनीति हेर्ने धोको छ



धनराज वास्तविक :

नेपाली मनहरूबीचको प्रेमभाव नै प्रेमील जीवनको प्राण हो । प्रेमबिनाको जीवन सार्थकता भन्दा पर ठिंग उभिएको एउटा बुँख्याचा हो । जसको स्पष्ट आकार छैन् आकार जस्तो । र रूप छैन, कुरूप जस्तो । विश्वका मानिसहरूसँग अद्भुत प्रेमलाई प्रकट गर्ने फरकफरक तरिका छन् । स्तम्भको आरम्भमै प्रेमको पिङमा मच्चिएर दसैँतिहार मनाउने खाँदबारीमा पुगेको पत्तै भएको छैन यो स्तम्भकारलाई । विश्वासबिनाको प्रेम निरस निरस हुन्छ । दुनियाँका मानसिक र संसारलाई जोड्ने सबैभन्दा सशक्त माध्यम न त चुम्बक हो । न त हावापानी हो । न त विज्ञान हो । न त चिनजान नै हो ।
वास्तवमा संसारलाई एक कोर्णमा जोड्ने काम प्रेमको डोरीले गरेको सत्य हो । यसमा विमति नरहँला । प्रेमले मान्छे मान्छेको मनलाई जोड्छ ।

आजकल सामाजिक सञ्जालले मानिसलाई जोड्ने साधनको भूमिका निभाएको छ । तर, यो साध्य होइन । मानिस मानिसबीचको प्रेमले एकआपसमा जोडिएका हुन् । पारि किनारामा पर्खिरहेका प्रेमिल मनहरूलाई भेट्न आतुर वारीछालमा तिर्खाएको काकाकुलझैँ मायाले ओतप्रोत दिलहरूको एकहुने दिन भनांै या मिलनका हातहरू मिलाउँदै स्पर्शको अंगले भलाकुसारी गर्ने मौका दुईकिनारा बीचलाई जोड्ने साँघु निर्माण नभएसम्म असम्भव प्रायः छ ।
जीवन सबैका लागि एउटै हो जिउने कलामात्र फरक । संसारमा जति मानिसहरू छन् त्यति नै जीवनका फरक परिभाषा छन् । त्यस्तै यो प्रेम पनि परिभाषाविहीन छ । अर्को सत्य के पनि हो भने, जुन कुराको खास अर्थ र परिभाषा छ त्यो कुराको मूल्य सस्तो छ । जुन कुरा मानिसको क्षमताभन्दा पर छ, त्यो कुराको मूल्य महँगो छ । जुन वस्तुको आकार नाप्न, भन्न, गन्न सकिन्छ त्यस्ता कुनै पनि चिजको सामथ्र्य साबिकभन्दा पर आउन सकेको छैन ।

हामीले सहजै अनुमान लगाउन सक्ने वस्तुको मूल्य र अनुमान लगाउन नसकिने वस्तुको मूल्य ज्यादात्तर फरक छ । चन्द्रमामा पाइला टेक्न सफल मानव जीवनले मंगल ग्रहको यात्रा तय गरिरहेको अवस्थामा पनि प्रेमलाई तौलने औजार बनाउन नसकेको तीतो सत्यको सामु मन, भगवान्, दिलजस्ता कुराहरूको बेग प्रभाव जीवनले भोगिरहेको छ । भोगिरहनेछ । उल्लेखित अदृश्य विषयहरूको एउटा आजसम्मको मूल्य तोक्ने माध्यम भनेको विश्वास हो ।

मानव जीवनको यात्रामा जोडिने र तोडिनेको लेखाजोखा हुन्छ तर त्यो स्थिति आउनुमा व्यक्तिमात्र दोषी नभएर विश्वास पनि एक हो भन्ने कुरा सायदै मानिसले जानेका छन् रत अझैसम्म पनि प्रेम, विश्वास र दिलजस्ता कुराहरूको परिभाषा झन्झन् गोप्य बन्दै छ । करुणामय भावनाको माध्यमले चिनिएको प्रेमको कारण कैयन जीवनले अकालमा मर्नु परेको छ । यो सत्यको सामुन्नेमा प्रेम करुणा नभएर गला रेट्ने खुकुरीको धार अथवा विष सावित हुन्छ । विश्वासको आधारमा जीवन र संसार चलेको छ जहाँसम्म त ।

मानिसको अन्तिम गन्तव्य खुसी प्राप्त गर्नु हो । चाहे राजनीति गरेर होस् या अन्य कुनै पेसा व्यवसाय । साहित्य र कला क्षेत्रको आँखाले सम्बोधन गर्ने समाजका अनेकन विषयमध्ये सबैको बीचमा साझा विषय बनेर अडिरहेको कुरा नेपालको राजनीति हो । आज जुन अवस्था सिर्जना भएको छ । यो स्थिति आउनुमा अन्य धेरै कारणमध्ये विश्वास पहिलो कारण हो । विश्वासबिनाका जीवनहरूले अनायासै आत्महत्या गर्नु परेको शाश्वत सत्य पनि हो । विश्वजित्न हिँडेका तानाशाह हिटलरले बिहे गरेको दोस्रो दिनमा आफ्नो कुकुरसँगै संसारसामु हारेर मर्नु पर्यो  । विश्वको अग्लो जमिन सगरमाथा र विश्वकै होचो भूमि जलेश्वरधामभित्र अटेका असाधारण प्राकृतिक स्रोत र विराट सांंस्कृतिक छटाले भरिएको विश्वमान चित्रमा एक टुक्रा जमिनको उपमाले बनेको नेपालको हिमाल, पहाड र मधेसबीचको भ्रातृत्वलाई झगडामा परिणत अरू कुनै कारणले भएको होइन, चरम विश्वासको खडेरीले हो ।

मानव विकासको चरम सिमानासम्म आइपुग्दा मानवले जानेको विषय तेरो र मेरो भन्नु हो । हिमालले तराई मधेसको विश्वास गर्नुपर्छ, र मधेसले हिमालको । पहाडले मुटु बनेर श्वास फर्ने काममा रत्ति कन्जुसाइँ गर्नु हुँदैन । एकले अर्काको अस्तित्व स्वीकार गर्न सक्नु जीवनको आवश्यकता हो । यही अविश्वासको काँडाले आज हाम्रो देशको अमर प्रेमले बनेको कोमल शरीर कोतारिएको छ । मानिसको मन बिथोलिएको छ । कतिपय मधेसका नागरिकले हिमाललाई शिर सम्झिनुको साटो चिसो झिर सम्झिरहेको छ ।

घृणा जगाउन खोज्नेको खेल हो यो । खराब सोचाइ हो । भ्रातृत्व र मातृत्वसहितको प्रेमले एउटा मालामा बाँधिएको फूलहरूको आकारझैं हाम्रो समाजलाई एकताबद्ध तरिकाले उभ्याउन सक्नु आजको खाँचो हो । हामीले आजसम्म अरू परिवर्तन भएको देख्न खोज्यौँ , अब आफू परिवर्तन भएर देखाउन सक्नुपर्छ । आजसम्म आफ्नो लागि राम्रो सोच्यौैं, अब अरुरूको लागि राम्रो सोच्नुपर्छ । हामीले आजसम्म अरूलाई चिन्ने प्रयास ग¥यौ । अब आफैलाई चिन्नुपर्छ । हामीले आजसम्म मेरो भन्यौं । अब हाम्रो भन्न सक्नुपर्छ । म होइन हामी हौं । हामी हौं को भावना जाग्नुपर्छ ।

हामी सबैभन्दा पहिले नेपाली हौं अनिमात्र हिमाली, पहाडी, मधेसी, आदि । हाम्रो पहिचान थरीथरीको छ । राष्ट्र एउटै छ । हामी नेपाललाई प्रेम गर्ने मेहनती नागरिक हौं । हामीसँग सबथोक छ । हामीभित्रै शक्ति छ जसलाई बुझ्न सक्नुपर्छ । हृदयको कुनबाट यति कुराको सरसर्ती पालना गर्न सुरु गरेको खण्डमा कस्तुरीले बिना खोज्न जंगल चहार्नु पर्दैन । कस्तुरी आफ्नै शरीरमा बास्नादार रूपमा फैलिएको बिनाको खोजीमा भौतारिँदै जीवनलाई मृत्युको ढोकासम्म पुग्छ र मृत्युवरण गर्छ । त्यस्तै हामीले हाम्रो देशलाई पुकारेरमात्रै हुँदैन । गरेर देखाउने समय हो । प्रेम डोरीले गुथिएको एकतालाई कसैले पनि फुकाल्न र चुँडाल्न सक्दैन ।

राजनीतिक राज्य र जनता बीचको नीति हो । यही भावलाई व्यवहारमा उतार्नको लागि राजनीतिक काँडाले कोतारिएको मधेस, पहाड र हिमाललाई महलमपट्टी लगाउन भ्रातृत्वको प्रेमबाहेक अरू कुनै कुराले सम्भव छैन । वर्तमान समयमा देखिएका बिछोडका छिटाहरूलाई सुकाउनको लागि पारिलो घामले सक्दैन । मधेसको कोमल मन दुःखले भतभती पोलेको समयमा हिमालको चिसो हिउँले सेक्नुपर्छ । तराईलाई पर्दा हिमाल र पहाड उठ्नुपर्छ । समाजमा एउटा उखान छ, घोडा चढ्ने मानिस लड्छ । तर मेरो सामुन्नेमा घोडा चढ्ने मानिस लड्नेमात्रै नभएर सिक्ने पनि हुन्छ । हाम्रो देशको राजनीतिले धेरैलाई लडायो । तर कहिल्यै सिकाएन । दुनियाँमा समयले जहिले पनि लडाउँछ ।

समयको विशेषता नै लडाउने हो । मानिसले समयको दास भएर बाँच्नु हुँदैन । समय मानव जीवनको लागि प्रमुख प्रतिस्पर्धी हो । प्रतिस्पर्धीसँग पराजय भोगिँदैन । प्रतिपस्र्धाबाट सिकिन्छ । हामी किन सिक्नबाट बञ्चित हुन्छौं ? हामीले मानव मनको प्रेम रसस्वादन गर्न किन चाहदैनौँ ? हाम्रासामु यी प्रश्न हिमाल बनेर उभिएका छन् । जीवनका हिउँचुलीहरूमा बाधा अवरोध आउँछन् नै ।

यस्ता सानातिना दुःख अभावका थुम्काहरूलाई पार गरेर गन्तव्यको आकार लिन नसकिने सामान्य स्थिति अरू कसैको कारणबाट सिर्जना हुँदैन । दुःख र सुख एउटै आमाका सन्तान हुन् । हामी जति लडे पनि । पछारिए पनि । हामीले उठ्नुको विकल्प छैन । हिमालको चिसो हावाले तराईको प्रचण्ड गर्मीमा हातेपंखा समातेर हावा हानिरहेका समुदायलाई शीतलता प्रदान गर्नुपर्छ । पहाड र हिमाललाई पर्दाखेरि तराईले साथ दिनुपर्छ । भनिन्छ, देश बूढो हुँदैन, माया पुरानो हुँदैन । हामी मानवले देश भनेको सीमित भूगोलमात्रै हो भनेर बुझ्नु हुँदैन ।

देशभित्र अटाउने सबै मानिसको देशभित्र पहिचान र अधिकार हुन्छ । यो देश सबैको हो र सबैमा अपनत्वको भावना जाग्ने अवस्था बनाउनुपर्छ । असन्तुष्टि जहाँ जहिले पनि हुन सक्छ । यसलाई अन्यथा लिनु हुँदैन । आज हामीले गर्ने घृणाले भोलिको पिँढीसम्मलाई क्षति पुग्न सक्छ । हामीले त्यस्तो प्रेमभाव जगाउन सक्नुपर्छ जसले मानिसमानिसबीच सद्भाव र सहयोगको भावना जागोस् । विपत्तिमा हामीले एकअर्कालाई दिलोज्यानले सघायौं । मधेसमा बाढी आउँदा पहाड र हिमालले सघायो । पहाडमा भूकम्प आउँदा मधेसले सघायो । यही हाम्रो संस्कार हो । हामी कसैको स्वार्थको लगाम भिरेर हिँड्न हुँदैन । निजी स्वार्थको कारण अमूल्य प्रेमको हत्या हुनबाट जोगिनै पर्छ ।

स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा हामी उभिएका छौँ । यो पाली देशको बागडोर यूवाको हातमा थमाउनु पर्छ । यूवाले यूवालाई साथदिनु पर्छ । बुढालाई सम्मान र यूवालाई भोट दिएर हेरौँ । जीवनमा क्रान्ति कहिल्यै सकिदैन । जीवन रहेसम्म क्रान्ति जारी रहन्छ । आन्दोलन र गोली हानाहानालाई मात्र क्रान्ति भनेर बुझ्नु हुँदैन। मानिसले आफैसँग हरेर किसिमका आन्दोनल गरिरहेको हुन्छ । अब यूवाको पालो हो । विकास र सम्वृद्धिको क्रान्ति यूवाले थाल्नु पर्छ । आजको आवश्यकता पनि यहि हो ।

कसैले कसैलाई होच्याएर बोल्नु प्रेम होइन । हाम्रा शीर्ष नेताहरूको मुखबाट कसैलाई होच्याउने बोली फुट्नु लज्जाको विषय हो । यसले गलत सन्देश प्रवाह हुन्छ । विषको बोट रोप्दा विष फैलन्छ । प्रेमभाव दर्शाउनुहोस् । प्रेम गर्न सिकाउनुहोस् । प्रेम त त्यो हो जसलाई सम्झिँदा गर्वले छाती ढकमक्क गुराँस फुलेजस्तै हुन्छ । प्रेम त त्यो हो हिमाल, पहाड तराईको नाम लिँदा आनन्दको अनुभूति मिल्छ ।

आज यही प्रेमको खाँचो छ, जुन प्रेमले हिमाल, पहाड र मधेसको नातालाई अजम्बरी बनाओस् । अटुट प्रेमिल नाताको रङले दिनप्रतिदिन आकारमा नयाँपन र प्रगाढताको रूप लेओस् । यति भएको स्थितिमा प्रेमको साँघुमा अनादिकालसम्म विश्वासपूर्वक प्रेमिल मनहरू ढुक्कसँग यात्रा गरिरहनेछन् । अन्त्यमा नेपालको राजनीति प्रेमको पिङमा मच्चिएको देख्ने धोको छ । कमल बनेर ज्ञान बाडौँ, गुलाब बनेर प्रेम । तथास्तु :



प्रतिक्रिया दिनुहोस्

Screenshot