Logo

निर्वाचनमा सुरक्षा गर्न नेपाली सेना तयार : भट्टराई



काठमाडौँ, २८ चैत । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले एकै चरणमा शान्तिपूर्ण तरिकाले स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल प्रतिष्ठान शाखाको भेलालाई आज सम्बोधान गदै उहाँले सबै दलको सहभागिता हुने गरी एकै चरणमा निर्वाचन गर्नुपर्नेमा जोड दिनुभयो ।

‘‘ निर्वाचनमा सुरक्षा गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तयार छन् । कर्मचारी पनि पर्याप्त छन्’’ उहाँले भन्नुभयो–‘‘त्यसैले एकै चरणमा निर्वाचन गराउनु पर्दछ । दुई चरण गर्नुपर्ने कारण नै छैन ।’’

सचिव भट्टराईले अनेक बाहनामा निर्वाचनलाई पछि धकेल्नका लागि दुई चरण गर्नुपर्ने कुरा ल्याइएको टिप्पणी गर्नुभयो ।

उहाँले सरकारले पुनः ल्याउन लागेको संविधान संशोधनको नयाँ प्रस्तावलाई एमालेले साथ नदिने बताउनुभयो । उहाँले स्थानीय तहलाई कमजोर बनाउनेका लागि संशोधन विधेयक ल्याउन खोजिएको पनि आरोप लगाउनुभयो ।

प्रचार विभाग प्रमुख समेत रहनुभएका सचिव भट्टराईले पार्टीले चाँडै नै संविधान कार्यान्वयन, राजनीतिक स्थायित्व, सुशासन, विकास र जनताको साझेदारी जस्ता कुरा समेटेर घोषणा पत्र ल्याउने बताउनुभयो ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले संविधान कार्यान्वयनका लागि निर्वाचन आवश्यक भएको बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot