Logo

अन्ततः अर्याल प्रहरी महानिरीक्षक नियुक्त



काठमाडौं, २८ चैत। सरकारले डीआईजी प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ । सोमबार अबेर बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई प्रहरी प्रमुखमा बढुवा गर्ने निर्णय गरेको हो ।

कमिटीमा गृह सचिव, प्रधानमन्त्री कार्यालयका सचिव, कानुन सचिव र निमित्त प्रहरी प्रमुख रहेको समितिले पेश गरेको कार्यसम्पादनको नम्बरका आधारमा अर्याललाई प्रहरी प्रमुख बनाइएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयशंकर नायकले जानकारी दिए।

उनलाई महानिरीक्षक बनाउने विषयमा सत्तारुढ दलहरु कांग्रेस, माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच मत ऐक्यता भएको थियो। केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा तथा राप्रपा अध्यक्ष कमल थापाबीच अर्याललाई महानिरीक्षक बनाउने सहमति भएको थियो।

सरकारले फागुन १ गते डीआईजी जयबहादुर चन्दलाई प्रहरी प्रमुखमा बढुवा गरेको थियो । तर चैत ८ गते सर्वोच्च अदालतले सरकारी निर्णय बदर गरिदिएको थियो। वरिष्ठताका हिसाबले नभई राजनीतिक तवरबाट आइजिपी नियुक्त गरेको भन्दै अधिवक्ता कपिलदेव ढकालले सर्वोच्चमा रिट हालेका थिए। डिआइजी नवराज सिलवालले पनि आफू प्रहरी प्रमुख बन्न योग्य रहेको भन्दै सर्वोच्चमा मुद्धा हालेका थिए।

आइजिपी नियुक्तिसम्बन्धी विवाद अदालतसम्म पुगेपछि सरकारले नेपाल प्रहरीकै प्राविधिक तर्फका एआइजी डाक्टर दिनेशचन्द्र पोखरेललाई निमित्त प्रमुख बनाएको थियो।

नवनियुक्त महानिरिक्षक अर्याललाई अाजै फूली लगाउनका लागि गृह मन्त्रालयले गृहका उच्च अधिकारी लगायत नेपाल प्रहरीका उच्च अधिकारी, सशस्त्र प्रहरीका उच्च अधिरकारी र राष्ट्रिय अनुसन्धानका उच्च अधिकारीलाई मन्त्रालय बाेलाएकाे छ ।

को हुन नयाँ आईजीपी अर्याल ?

महानिरिक्षकको नियुक्ती पाएका ५३ वर्षे अर्याल दाङ त्रिभुवन नगरपालिका वडा नम्बर ११ मा जन्मेका हुन् । अर्याल २०४४ चैत १९ गते प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका हुन्।

२०६९ पुष ४ मा डिआईजीमा बढुवा भएका अर्यालले पछिल्लो समय महानगरिय ट्राफिक प्रहरी महाशाखाको जिम्मेवारी सम्हालेका थिए ।

पछिल्लो समय उनले अपराध अनुसन्धान विभागको प्रमुखको जिम्मेवारी पाएका थिए । त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेका अर्यालले आजैबाट कार्यभरा सम्हाल्ने छन् ।

 



प्रतिक्रिया दिनुहोस्