Logo

निर्वाचनको आन्तरिक तयारीमा जुट्दै ठूला दल



धनुषा, २ वैशाख । आसन्न स्थानीय तह चुनावका लागि प्रमुख दलले आन्तरिक तयारीमा जुटेका छन् । स्थानीय तहको चुनाव यही वैशाख ३१ गर्ने घोषणा भएको छ ।

तर अहिलेसम्म प्रदेश नं– २ मा चुनावी चहलपहल प्रायः शून्य देखिए पनि प्रमुख ठूला दल नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी (केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतले आन्तरिक तयारीमा जुटेका हुन् ।

ती दलहरुमा जनकपुर उपमहानगरपालिकाको प्रमुख, उपप्रमुखलगायत पदका लागि को को उम्मेदवार हुने चचापरिचर्र्चा हुनथालेका छन् ।

काँग्रेस, एमाले, माओवादी केन्द्रबाट उपमहानगरपालिकाको प्रमुख एव्म उपप्रमुख पदका लागि धेरै आकांक्षी देखापर्न थालेका छन् । काँग्रेसबाट नगर प्रमुख पदमा चन्दन कौशिक, जनकपुर उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष श्याम साह, निर्मल चौधरी, पूर्व नगरप्रमुख बजरङ्गप्रसाद साह, जीवनाथ चौधरी, श्रीराम साह, मनोज साह लगायत चर्चामा रहेको नेपाली काँग्रेस धनुषाका सभापति रामसरोज यादवले बताउनुभयो ।

त्यस्तै एमालेबाट पार्टीका जनकपुर नगर संयोजक सुरेन्द्र राय, उमेश साह, सञ्जीव झा, सांसद शीतल झा, प्रिति गुप्ता, राधारानी साह र जुली महासेठ लगायतको नाम नगर प्रमुख पदका लागि चर्चामा रहेको नेकपा एमाले धनुषाका अध्यक्ष राजकिशोर यादवले बताउनुभयो ।

यस्तै नगरप्रमुख पदका लागि नेकपा माओवादी (केन्द्र)बाट लालबाबु झा, फुलगेन्द्रप्रसाद साह र कामेश्वर महतो आकांक्षी देखिएका छन् ।

यी उम्मेदवारको नाम चर्चामा रहेपनि ती पार्टीले अहिलेसम्म कसैको नाम टुङ्गो लगाएको छैन ।

नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य रामचन्द्र मण्डलले प्रदेश नं– २ मा स्थानीय निर्वाचन हुने पक्का नहुेन्जलसम्म उम्मेदवार छनोट भन्दा बढी पार्टीलाई हरेक वडा र टोलमा साङ्गठनिक संरचना मुजबुत पार्दै सङ्गठन निर्माण, निर्वाचन परिचालन समिति, बुथ कमिटी र स्थानीयस्तरबाटै उम्मेदवार समेत छनोट गर्नका लागि उम्मेदवार चयन समितिजस्ता संरचना निर्माणमा व्यस्त रहेको बताउनुभयो ।

२०१६ सालमा नगरपालिका भएको जनकपुर २०७१ साल मङ्सिर १६ गतेदेखि उपमहानगरपालिकामा रुपान्तरण भएको छ । उपमहानगरपालिकामा रुपान्तरण भएपछि धनुषाका कुर्था, बसबिटिटी, बिन्धी, महुवा, बेंगाशिवपुर, बसहिया, देवपुरा रूपैठा, लक्ष्मीपुरबगेवा, तथा कनकपट्टी गाविसलाई समावेश गरी अहिले २४ वडा विस्तार गरिएको छ ।

कुल एक लाख ५३ हजार ६१४ जनसङ्ख्या रहेको जनकपुर उपमहानगरपालिकामा झन्डै ८० हजार मतदाता रहेको निर्वाचन कार्यालय धनुषाले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot