Logo

सरकारी सञ्चार माध्यमलाई सार्वजनिक संस्थामा रुपान्तरण गर्नुपर्ने : अध्यक्ष विष्ट



काठमाडौँ, २ वैशाख । नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले सरकारी स्वामित्वका सञ्चारमाध्यमलाई जनताप्रति उत्तरदायी हुनेगरी सार्वजनिक संस्थामा रुपान्तरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

महासङ्घको रेडियो नेपाल शाखाको नवाँै अधिवेशनको आज सिंहदरबारमा उद्घाटन गर्दै उहाँले भन्नुभयो–“रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सार्वजनिक प्रसारण संस्था (पिएसबी) मा लैजानुपर्छ ।”

सरकारी स्वामित्वका सञ्चारमाध्यम कुनै मन्त्रालयको मातहत रहने र व्यवस्थापनमा राजनीतिक नियुक्तिको परम्परा कायम रहेसम्म स्वतन्त्र पत्रकारिता गर्न कठिन हुने उहाँको भनाइ थियो ।

रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले आफ्नो कार्यकालमा संस्थालाई सुधार गरी आर्थिकरुपमा स्वायत्त बनाउँदै लगेको तथा पत्रकारको पेसागत हक र क्षमता वृद्धिका लागि अझै काम गर्नु बाँकी रहेको बताउनुभयो ।

कार्यक्रममा न्यूनतम पारिश्रमिक समितिका अध्यक्ष पोषण केसी, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सेन्टर नेपालका उपाध्यक्ष बलराम थापा र प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य प्रकाश सिलवाललगायतले अधिवेशन सफलताको शुभकामना दिँदै रेडियो नेपाल भरपर्दाे र राष्ट्रको सञ्चारमाध्यमका रुपमा लोकप्रिय भइरहनुपर्ने बताउनुभयो ।

अधिवेशनले दुर्गा फुयाँलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot