Logo

मोर्चाको आन्दोलनले चुनाव रोकिँदैन् : रावल



काठमाडौं, ३ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मधेशी मोर्चाको आन्दोलनले चुनाव नरोकिने स्पष्ट पारेका छन् ।

आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजा गरेको साक्षात्कारमा बोल्दै उपाध्यक्ष रावलले चुनाव लोकतन्त्रको महत्वपूर्ण चरण भएकोले तोकिएकै मितिमा एकै चरणमा निर्वाचन हुनुपर्ने बताए । उनले मधेशी मोर्चा सम्मिलित संघीय गठबन्धनले घोषणा गरेको आन्दोलनले देशको कुनै पनि भूभागमा निर्वाचन नरोकिने समेत दाबी गरे । उनले भने,‘मोर्चाका नेताहरुपनि चुनावमा जान डराउनुहुँदैन्, जनतामा जान किन डराउने ?’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले आफ्नो पक्षमा जनता भएको दाबी गर्ने मधेशी मोर्चालाई चुनावमार्फत आफ्नो मत ल्याएर दाबी प्रमाणित गरेर देखाउन चूनौति दिए । उनले भने,‘जनताको मत लिनको लागि किन तयार नहुने ? अनि चुनावको मुखमा आएर हुन दिन्नौं भनेर धम्की दिनु भनेको मोर्चा जनताको पक्षमा छैन् ।’ उनले मोर्चा तथा संघीय गठबन्धनको आमहड्तालसहित आन्दोलन गर्ने निर्णय मधेशी जनताको हितमा पनि नभएको स्पष्ट पारे ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका उपाध्यक्ष रावलले सरकारले मोर्चाको माँग सम्बोधन गर्नको लागि ल्याएको नयाँ संशोधन प्रस्तावलाई मोर्चाले अस्विकार गरिसकेको उल्लेख गर्दै भने,‘’मोर्चाको लागि ल्याएको प्रस्ताव मोर्चाले अस्विकार गरिसक्यो, के को लागि ल्याईएको हो ? कसको लागि ल्याईएको हो ? हामीले अहिलेसम्म बुझेको छैन्।’

त्यस्तै उनले सरकारले प्रस्ताव ल्याउनुपुर्व एमाले र मोर्चासँग सहमति गरेर ल्याएको दाबी गरेपनि उक्त दाबीमा कुनै सत्यता नै नभएको जिकिर गरे । रावलले भने,‘सरकारले हामीसँग सहमति गरेर नयाँ संशोधन विद्येयक ल्याएको हो भनेर हल्ला र भ्रम फैलायो, तर यसमा कुनै सत्यता छैन् ।’

उनले वर्तमान सरकारका एक उपप्रधानमन्त्रीले एमालेले प्रस्ताव अस्विकार गरेको कारण समस्या समाधान नहुने भयो भनेर सार्वजकि अभिव्यक्ति दिएको आरोप लगाउँदै भने,‘एमालेको नाम देखाएर जनतामा भ्रम फैलाईएको छ, प्रस्ताव ल्याउनुपुर्व हामीसँग कुनैपनि छलफल तथा सहमति भएको छैन।’

उनले १९ वर्षपछि हुन गैरहेको स्थानीय तहको निर्वाचन हुन दिन्नौं भनेर धम्की दिनु भनेको नेपालको अस्तित्व नै समाप्त पार्ने ठूलो चक्तव्युह रच्ने काम मात्रै भएको आरोप लगाए । रावलले घोषित मितिमै निर्वाचन हुने समेत दाबी गरे । उनले थपे,‘जनता चुनाव भाँड्ने पक्षमा छैन् ।’ रावलले चुनाव सार्ने, टार्ने काम नगर्न समेत सरकारलाई आग्रह गरे ।

केही दिनअघिमात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेले चुनाव चाहेको छैन भनेर अभिव्यक्ति दिएकोप्रति टिप्पणी गर्दै रावलले भने,‘प्रधानमन्त्रीले अनर्गल कुरा गर्नुभयो, यो हाँस्यस्पद हो ।’

रावलले जनताले मत हाल्न पाउने अधिकार प्रयोग गर्न नदिने कुरा लोकतान्त्रिक चरित्र नभएको आरोप लगाए। उनले भने,‘मधेसी जनता चुनाव हुन नदिने पक्षमा छैनन्, उनीहरु त चुनावको तयारीमा जुटिसकेका छन् ।’

पछिल्लो संशोधन प्रस्तावमा एमालेसंग कुनै सहमति नभएको र मधेसी मोर्चाको माग सम्बोधनको लागि ल्याइएको संशोधनलाई एमालेलाई दोष दिनु गलत हुने उनको भनाई थियो । त्यस्तै उनले निश्पक्ष, स्वच्छ र शान्तीपुर्ण ढंगले निर्वाचन गराउन एमाले सरकारलाई सहयोग गर्न तयार रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot