Logo

यस्तो छ प्रचण्डले तयार पारेको सहमतिको सूत्र :



काठमाडौँ, ८ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेशी मोर्चालाई जसरी पनि बैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनमा सहभागी गराउनको लागि नयाँ सुत्रहरु तयार पारेका छन् ।

मोर्चाको माँग सम्बोधन गर्नकै लागि सरकारले यसअघि संविधान संशोधनको नयाँ विद्येयक ल्याईसकेको थियो । तर मोर्चाले उक्त प्रस्ताव अस्विकार गरेर आन्दोलनमा होमिने निर्णय गरेपछि प्रधानमन्त्री दाहाल मोर्चासँग असन्तुष्ट बनेका थिए । दाहालले मोर्चाकै माँग अनुसार नै आफूले नयाँ संशोधन विद्येयक ल्याएको समेत दाबी गरेका थिए । तर मोर्चाले भने दाहालले आफूहरुलाई धोका दिएको आरोप लगाउँदै आएको छ ।

मोर्चालाई सहमतिमा ल्याउनको लागि प्रधानमन्त्री दाहालले विभिन्न विकल्पहरु अघि सारिरहेका छन् । त्यसैको निरन्तरताको लागि उनले आज प्रधानमन्त्री निवास बालुवाटारमा मोर्चाका शीर्ष नेताहरुलाई बोलाएका थिए । बैठकमा प्रधानमन्त्री दाहालले निर्वाचनप्रति असन्तुष्ट मोर्चालाई यही वैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा सहभागी हुन आग्रह गरेका थिए । तर मोर्चाका नेताहरुले भने अहिले ल्याईएको संशोधन विद्येयक परिमार्जनसहित अघि बढाउनुपर्ने जिकिर गरे।

शुक्रबार विहान बालुवाटारमा बसेको बैठकमा सत्तारूढ दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) तथा मोर्चाका शीर्षनेताबीच छलफल भएको थियो । बैठकमा सत्तारूढ दलका नेताले सरकारले संविधान संशोधन प्रस्तावलाई अघि बढाउने र मोर्चाले निर्वाचनमा सहभागी हुने प्रस्ताव राखेको थियो ।

संविधान संशोधन प्रस्ताव र स्थानीय तहको निर्वाचनका विषयमा कुराकानी भएको जानकारी गराउँदै माओवादी केन्द्रका नेता वर्षमान पुनले भने, “संशोधन प्रस्तावलाई टुङ्गोमा पु¥याउने र मोर्चा निर्वाचनमा सहभागी हुने विषयमा सकारात्मक छलफल भयो ।”

संशोधन प्रस्तावमा केही आवश्यक भए परिमार्जनका लागि छलफल गर्न सकिने प्रधानमन्त्रीले आश्वासन दिएका छन् । त्यस्तै उनले आजै अपराह्न ३ बजे सत्तारूढको बैठक बोलएका छन् । तर साँझ ५ बजे मोर्चासँग फेरि छलफल गर्ने प्रधानमन्त्री दाहालको निजी सचिवालयले जानकारी दियो ।

निर्वाचनमा सहभागी नुहुने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेपछि आज पहिलोपटक सरकारसँग छलफलमा जुटेको मोर्चाका नेताले स्थानीय तहको निर्वाचनभन्दा संविधान संशोधनमा मोर्चाको मुख्य चासो भएको भन्दै संशोधन प्रस्तावमा परिमार्जन हुनुपर्ने माग गरेका थिए ।

प्रधानमन्त्री दाहालले पनि भाषा र नागरिकताको सवालमा मोर्चाको चित्त बुझाउनेगरि संशोधन प्रस्ताव परिमार्जन गर्न सकिने आश्वासन दिए । यति गर्दा मोर्चा सहमति हुन्छ भने प्रमुख प्रतिपक्षी दल एमालेलाई मनाउने जिम्मा पनि दाहालले नै लिने करिब करिब मोर्चाका नेतासँग सहमति भएको एक नेताले जानकारी दिए ।

उता मोर्चाले पनि आफूहरुले अघि सारेका माँगहरुलाई समावेश गरी परिमार्जनसहित संशोधन प्रस्ताव पारित भएमा आफूहरु निर्वाचनमा सहभागी हुने विश्वास प्रधानमन्त्रीसमक्ष राखेका छन् ।

सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि मोर्चाका माँगहरुलाई सम्बोधन गर्नेगरि अहिले ल्याईएको संशोधन विद्येयक परिमार्जनसहित अघि बढाउन सकिने धारणा राखेका थिए ।



प्रतिक्रिया दिनुहोस्