Logo

दोस्रो चरणमा निर्वाचनमा जान्छौँ : नेता त्रिपाठी



नवलपरासी, ९ वैशाख । मधेसकेन्द्रित छवटा राजनीतिक दल एकीकरण भई बनेको राष्ट्रिय जनता पार्टीका नेता हृदयेश त्रिपाठीले सरकारसँग भइरहेको वार्ता सकारात्मक रुपमा अघि बढिरहेको बताउनुभएको छ ।

आज साँझ गृह जिल्ला नवलपरासी आउनुभएका नेता त्रिपाठीले सदरमुकाम परासीमा पत्रकारहरुसँग कुराकानी गर्दै सो कुरा बताउनुभएको हो ।

सो अवसरमा नेता त्रिपाठीले सरकारसँग जारी वार्ता सकारात्मक रुपमा अघि बढेको छ भन्दै उहाँले भन्नुभयो –“सरकार र मधेसकेन्द्रित राजनीतिक दलसँग भएको वार्ता सहमतिमा पुगेमा हामी दोस्रो चरणमा निर्वाचनमा जान तयार छौँ ।”

नेता त्रिपाठीले सरकारसँग परिमार्जनसहित संविधान संशोधन, तराई मधेसमा जनसङ्ख्याको आधारमा स्थानीय तहको सङ्ख्या थप गर्नुपर्ने, आन्दोलनमा मारिकाहरुलाई सहिद घोषणा र आन्दोलनका क्रममा पक्राउ परेकालाई मुद्दा फिर्तासहित रिहाइ गर्नुपर्ने मधेसी मोर्चाले माग राखेको जानकारी दिनुभयो ।

सरकार र मोर्चाबीच भइरहेको वार्ता सहमतिको नजिक पुगेको जिकिर गर्दै नेता त्रिपाठीले सरकारसँग जारी वार्ता सहमतिमा पुगेमा दोस्रो चरणमा आफूहरु स्थानीय तहको निर्वाचनमा जान तयार रहेको जानकारी दिनुभयो ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध छ राजनीतिक दलहरु एकीकरण हुनु मधेसको आवश्यकता भएकाले अब अन्य दल पनि सहभागी बन्नेमा आफू विश्वस्त रहेको नेता त्रिपाठीले दाबी गर्नुभयो । रासस



प्रतिक्रिया दिनुहोस्