Logo

दुई स्थानमा अपाङ्गमैत्री मतदान केन्द्र



नुवाकोट, १० वैशाख । अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई मतदान गर्न सहज बनाउन नुवाकोटमा दुईवटा मतदानस्थललाई अपाङ्गमैत्री मतदान केन्द्र निर्धारण गरिएको छ ।

अपाङ्गता भएका व्यक्तिलाई मतदान केन्द्रसम्म सहज रुपमा ह्विलचियरमा पुग्न सक्ने तथा अतिरिक्त सुविधासहितको व्यवस्था गरी विदुर नगरपालिकाको नुवाकोट आदर्श बहुमुखी क्याम्पस, बट्टार र बेलकोटगढी नगरपालिकाको मदानपुर गाविस भवनलाई अपाङ्गमैत्री मतदान केन्द्र चयन गरिएको जिल्ला निर्वाचन अधिकारी जनार्दन अधिकारीले जानकारी दिनुभयो ।

अपाङ्गमैत्री मतदान केन्द्रका रुपमा चयन गरेको नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा विनपा–४ मा रहेका दुई हजार ७१ जना मतदाता रहेका छन् भने मदानपुर गाविस भवनमा चयन गरेको केन्द्रमा साविकको मदानपुर गाविसको वडा नं ६ र ९ मा रहेका एक हजार २६४ जना मतदाता रहेको निर्वाचन कार्यालय प्रमुख अधिकारीले बताउनुभयो । उहाँका अनुसार तथ्याङ्कमा प्रष्ट नहुने भएकाले उक्त मतदान केन्द्रमा अपाङ्गता भएका व्यक्ति कति सहभागी हुने यकिन नभए पनि सबैभन्दा बढी अपाङ्गता भएका व्यक्ति रहेको आधारमा केन्द्र निर्धारण गरिएको हो ।

अपाङ्गमैत्री मतदान केन्द्रका रुपमा चयन गरेको स्थानमा सडकको सहज व्यवस्था बनाएर मतदान गर्ने स्थानसम्म नै ह्विलचियर लैजान सकिने, दृष्टिविहीन, शारीरिक अपाङ्गता, बौद्धिक अपाङ्गता, बहिरा, सानो मान्छेलगायतलाई सहयोग पु¥याउन स्वयंसेवक र सुरक्षाकर्मी संलग्न रहेको भिन्दै टोलीसमेत व्यवस्था गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन कार्यालय प्रमुख अधिकारीका अनुसार अपाङ्गता भएका व्यक्तिलाई मतदान गर्न लाइन बस्नु नपर्ने व्यवस्थासहित उनीहरुका लागि छोटो समयमा स्वयंसेवकको साथमा मत खसाल्ने व्यवस्थासमेत मिलाइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot