काठमाडौं, १२ बैशाख । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारले संसदमा परिमार्जनसहित पेश गरेको संविधान संशोधन विधेयक पारित हुन नदिने निर्णय गरेको छ।
एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा मंगलबार बसेको स्थायी कमिटीको बैठकले सरकारले संशोधन प्रस्ताव पारित हुन नदिने निर्णय गरेको हो।
बैठकले सरकारले ल्याएको प्रस्ताव पहिलाको भन्दा पनि प्रतिगामी रहेको निष्कर्ष निकाल्दै असफल पार्ने निर्णय गरेको हो।
संविधान संशोधनको नयाँ प्रस्तावले सिमाङकन निर्धारण गर्ने प्रदेशसभाको अधिकार कटौती गर्ने, स्थानीय तहको अधिकार कटोती गरी लोकतन्त्रलाई सिमित गर्ने, नेपालमा बोलिने मातृभाषा हरुको प्रभावलाई कमजोर गर्न हिन्दी भाषालाई सरकारी कामकाजको भाषामा स्थापित गर्ने, अंगीकृत नागरिकलाई असिमित अधिकार दिनेजस्ता प्रावधान स्वीकार्य नहुने बैठकले निष्कर्ष निकालेको छ ।
बैठकले निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेपछि चुनावको मिति सार्नुले सरकार निर्वाचन नहुन नदिने षड्यन्त्रमा लागेको आरोपसमेत लगाएको छ।
एमालेले दुई चरणमा निर्वाचनकालागि आफू तयार रहेपनि बजेट ल्याउनु अगाडि नै अर्को चरणको पनि निर्वाचन हुनुपर्ने अडान राखेको छ।
त्यस्तै पहिलो र दोश्रो चरणको निर्वाचनको ग्याप लामो नराख्न पनि एमालेले आयोगलाई आग्रह गर्नेछ । स्थायी कमिटीको बैठक बुधबार पनि बस्नेछ ।