Logo

स्वतन्त्र न्यायपालिकाको गरिमा जोगाउन महाअभियोग : काँग्रेस



काठमाडौँ, १८ वैशाख । नेपाली काँग्रेसका नेताहरुले स्वतन्त्र र निष्पक्ष न्यायपालिकाको गरिमा जोगाउन प्रधानन्यायाधीशविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरिएको बताउनुभएको छ ।

काँग्रेस केन्द्रीय प्रचारप्रसार समन्वय उपसमितिले आज पार्टी केन्द्रीय कार्यालयमा गरेको पत्रकार भेटघाटमा नेताहरुले प्रधानन्यायाधीशले स्वतन्त्र न्यायपालिकको सिद्धान्त विपरीत नियतबस अदालतका निर्णय गरेको र सरकारको कार्यकारिणी अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाउनुभएको छ ।

कार्यक्रममा काँग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले आफ्नो पार्टी सदैव स्वतन्त्र र निष्पक्ष न्यायपालिकाको पक्षमा रहेको बताउँदै स्वतन्त्र न्यायपालिकाको गरिमा जोगाउन प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता भएको धारणा व्यक्त गर्नुभयो ।

काँग्रेस नेतासमेत रहनुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिको राजीनामापछि को गृहमन्त्री हुन्छ भन्ने जिज्ञासामा महामन्त्री कोइरालाले त्यसबारेमा शीर्ष नेता बसी टुङ्गो लगाउने जानकारी गराउनुभयो ।

काँग्रेस पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनअघि संशोधन प्रस्ताव पारित नभए पनि त्यसले निर्वाचनमा कुनै प्रभाव नपर्ने बताउनुभयो । संशोधन प्रस्ताव पारित गर्ने प्रयास निरन्तर जारी रहने बताउँदै नेता सिटौलाले निर्वाचनका लागि पार्टीको तयारी अन्तिम चरणमा रहेको जानकारी गराउनुुभयो ।

कार्यक्रममा प्रचारप्रसार उपसमितिका संयोजकसमेत रहनुभएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले काँग्रेस स्थापनाकालदेखि नै स्वतन्त्र, निष्पक्ष र सबल न्यायापालिकाको पक्षमा उभिँदै आएको बताउँदै न्यायपालिकालाई स्वतन्त्र, निष्पक्ष र मर्यादित बनाइराख्न प्रधान न्यायाधीशविरुद्ध महाअभियोगको प्रस्ताव ल्याएको अवगत गराउनुभयो ।

सरकारले कानुन बमोजिम प्रहरी प्रमुखको नियुक्तिमा सर्वाेच्च अदालतबाट हस्तक्षेप भएको र न्यायको सिद्धान्त विपरीत प्रधान न्यायाधीशले न्यायाधीशहरुको इजलास तोक्ने गरेको आरोप लगाउँदै मन्त्री लेखकले अदालतप्रति जनताको विश्वास जोगाइराख्न पनि महाअभियोगको प्रस्ताव आएको जिकिर गर्नुभयो ।

काँग्रेस र नेकपा (माओवादी केन्द्र) का २४९ जना सांसदहरुले हस्ताक्षर गरी आइतबार प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद् सचिवालयमा महाअभियोग दर्ता गराउनुभएको थियो । सोही विषयप्रति असन्तुष्टि जनाउँदै उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले आइतबार नै पदबाट राजीनामा दिनुभएको थियो ।

काँग्रेस उम्मेदवारको टुङ्गो आजै

काँग्रेसले पहिलो चरणको स्थानीय तहका लागि पार्टीका आधिकारिक उम्मेदवार आजै चयन गरिसक्ने जनाएको छ ।

पहिलो चरणको निर्वाचन हुने प्रदेश नं ३, ४ र ६ का सबै तहमा आज पार्टीका अधिकारीका उम्मेदवारको टुङ्गो लगाउन पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीसहितको बैठक बसिरहेको छ ।

निर्वाचन आयोगले भोलि वैशाख १९ गते उम्मेदवार मनोनयनको तालिका सार्वजनिक गरेको छ । त्यसका लागि आज रातिसम्म भए पनि सबै तहमा उम्मेदवारको टुङ्गो लागिसक्ने पार्टी कार्यालयका सचिव डा प्रदीप पराजुलीले जानकारी दिनुभयो ।

काँग्रेसले महानगरपालिका र उपमहानगरपालिका केन्द्रले र बाँकी सबै तहमा उम्मेदवार चयन गर्न जिल्लास्थित पार्टीको संयन्त्रलाई जिम्मेवारी दिएको थियो । तर प्रदेश नं ६ बाहेकका केही तहमा उम्मेदवार चयन गर्न विवाद देखिएपछि त्यसको पनि केन्द्रले नै टुङ्गो लगाउँदैछ ।

पार्टीले निर्वाचनको तयारीका लागि सबै तहमा निर्वाचन परिचालन समिति र प्रचारप्रसार समिति गठन गरी घोषणापत्रसमेत पठाइसकेको जनाएको छ । सरकारले प्रदेश नं ३, ४ र ६ मा पहिलो चरणको स्थानीय निर्वाचन वैशाख ३१ मा तथा प्रदेश नं १, २, ५ र ७ मा दोस्रो चरणको निर्वाचन आगामी जेठ ३१ गते गर्ने निर्णय गरेको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot