Logo

रवैया यस्तै रहे मधेसमा चुनावको सपना नदेख्न सरकारलाई यादवको चेतावनी



क्रान्ति शाह : वीरगन्ज २५, वैशाख । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले परिमार्जनसहित संविधान संशोधन नभए मधेशमा चुनाव असम्भव रहेको चेतावनी दिएका छन् ।
पछिल्लो समय संविधान संशोधनका लागि सरकार गम्भीर देखिएको र संशोधन प्रक्रिया पनि अघि सकेकोले गर्दा पहाड केन्द्रीत चुनावमा आफूहरुले उम्मेदबारी दिएको जिकिर गर्दै अध्यक्ष यादवले पहिलो चरणको चुनाव भएपनि त्यो अघि संशोधन नभए दोस्रो चरणको चुनाव मधेशमा हुनै नसक्ने चेतावनी दिएका हुन् ।
संविधान संशोधन गरि मधेसको माग पूरा नभएसम्म मधेसमा चुनाव हुनै नदिने यादवको चेतावनीले सरकारलाई झड्का लागेको छ ।
पर्साको वीरगन्जमा फोरम नेपालका शीर्ष नेताहरुको उपस्थितिमा सोमबार आयोजित एक दिने गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष यादवले संविधान संशोधन नभएसम्म दोश्रो चरणमा हुने भनिएको चुनावमा फोरम नेपालले भाग नलिने र चुनाव पनि हुनै नदिने बताए ।
मधेसको माग सम्बोधन नभए सम्म आफुहरुको आन्दोलन जारी नै रहने उनको भनाई थियो  । ‘जबसम्म संविधान संशोधन हुदैन, तबसम्म मधेसमा चुनाव हुन दिन्नौ, यदि मधेसमा चुनाव भएन भने अहिले पहाडमा भएका चुनावको पनि कुनै अर्थ रहदैन ।
मधेसको एजेण्डामा आफुहरुको अडान कायमै रहेको स्पष्ट पार्दै उनले भने,‘अहिले फोरम नेपालका बारेमा फिजाइएको हल्ला भ्रम मात्रै हुन्, हामी मधेसको एजेण्डामा कुनै किसिमको सम्झौता गर्न तयार छैनौ ।’
मधेसको मागको सवालमा नेकपा एमाले मात्र नभई काँग्रेस पनि विपक्षमा रहेको भन्दै उनले एमालेले संघीयता, धर्म निरपेक्षता र समावेशी लोकतन्त्रलाई समाप्त पार्नका लागि आन्तरिक रुपमा निर्णय नै गरिसकेको आरोप लगाए ।
सोझो ढंगले गरिने राजनीतिले हक अधिकार नपाइने भन्दै उनले भने,– ‘सोझो राजनीतिले अधिकार पाइदैन, अधिकारका लागि राजनीतिमा औंला टेढो पार्नै पर्छ, त्यसैले हामी अहिले पनि आन्दोलन र संघर्षको मैदानमा छौ ।’
मधेस विरोधी ठूला तीन दलबीचको अपवित्र गठबन्धन तोड्नका लागि नै तत्कालीन केपी ओलीको सरकारलाई ढाल्न काँग्रेसका तत्कालीन सभापति शुसील कोइरालालाई मधेसी मोर्चाले भोट दिएको उनले बताए ।
मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीको आगामी रणनीतिका बारेमा छलफल गर्न वीरगन्जको पदम पार्टी सेन्टरमा आयोजित गोष्ठीमा फोरम नेपालका वरिष्ठ नेता अशोक राई, केन्द्रीय उपाध्यक्ष लालबाबु राउत गद्दी, महासचिव रामसहाय यादव, मधेस प्रदेश सचिव शेष नारायण यादवका साथै फोरम नेपालका राजनीति समिति सदस्य, केन्द्रीय पार्षद, केन्द्रिय सल्लाहकार समितिका सदस्य, प्रदेश समितिका पदाधिकारी र सदस्य तथा  पर्सा, बारा, रौतहट र सर्लाहीका जिल्ला अध्यक्षहरुको सहभागिता थियो ।
गोष्ठीमा संविधान संशोधनका लागि सरकारले अगाडि सारेको प्रस्ताव, दोश्रो चरणको निर्वाचन, प्रधानन्यायधिश विरुद्धको महाअभियोग प्रस्ताव र फोरम नेपालमाथि अरु दलहरुले लगाएको आरोपका विषयमा गम्भिर रुपमा छलफल भएको फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्