काठमाडौँ, २७ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न स्थानीय तहको निर्वाचनले सिंहदरबारबाट शासन तथा विकास निर्माण गर्ने सबै अधिकार तराई मधेसदेखि हिमालसम्मका गाउँ नगरसम्म पु¥याउने एउटा अभूतपूर्व अवसर प्रदान गर्ने बताउनुभएको छ ।
सभापति देउवाले आज एक विज्ञप्तिमार्फत काँग्रेसको नेतृत्वमा संविधान निर्माणको महत्वपूर्ण जिम्मेवारी सम्पन्न भएको उल्लेख गर्दै संविधानको सफल कार्यान्वयनबाट जनतालाई सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि प्रत्याभूत गर्न फेरि एकपटक काँग्रेसकै नेतृत्वदायी भूमिका अपरिहार्य देखिएको जनाउनुभएको छ ।
“सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान दशकौँसम्मको अविराम लोकतान्त्रिक सङ्घर्ष यात्राका आरोह–अवरोह र चुनौती पार गर्दै आएको हो । हजारौँ परिवर्तनगामी र लोकतन्त्रप्रेमी जनता र कार्यकर्ताको अनवरत सङ्घर्ष, त्याग एवम् बलिदान अनि त्यसमा काँग्रेसको निरन्तर नेतृत्वदायी भूमिका र योगदानका कारण हासिल भएको हो” – सभापति देउवाले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
अत्यन्त कठिन साधना र समर्पणको फलस्वरूप प्राप्त उपलब्धिलाई जगैदेखि संस्थागत र सुदृढ गर्ने अवसर स्थानीय निर्वाचनले दिएको उल्लेख गर्दै सभापति देउवाले स्थानीय निर्वाचनमार्फत सामाजिक, आर्थिक पूर्वाधार विकास, सुशासन र स्थानीय समृद्धि प्राप्त गर्न सके तल्लो तहमै लोकतन्त्रको मजबुत आधारशीला बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।
विसं २००७ देखिका सबै राजनीतिक परिवर्तनमा काँग्रेसको निर्णायक संलग्नता रहेको उल्लेख गर्दै उहाँले स्थानीय प्राकृतिक स्रोतको समावेशी, समुचित र दिगो परिचालनमार्फत गाउँ नगरको अर्थतन्त्रमा गतिशीलता ल्याउने स्थानीय सरकार काँगे्रसले मात्रै दिनसक्ने जिकिर गर्नुभएको छ ।
“समाजको आपसी सद्भाव, मेलमिलाप, एक अर्काप्रतिको सम्मान र सहयोगले मात्र समग्र देशको भलो हुन सक्छ । स्थानीय निर्वाचनमा काँग्रेसको सफलता हरेक क्षेत्र, तह, समुदाय र वर्गका जनताको स्वाभिमान र उज्यालो भविष्यसँग गाँसिएको छ” – विज्ञप्तिमा भनिएको छ ।
विसं २००७ देखि नै विकेन्द्रीकरण र स्वशासनका पक्षमा खुलेर आवाज उठाउँदै आएको काँग्रेसका लागि स्थानीय तहको निर्वाचन खुसीको अवसर भएको जनाउँदै सभापति देउवाले काँग्रेसका पक्षमा मतदान गरी आफ्ना उम्मेदवारलाई अत्यधिक बहुमतका साथ विजयी गराउन अपिल गर्नुभएको छ । रासस