Logo

मतदान केन्द्रबाट परिचयपत्र वितरणसँगै मतदान तरिका सिकाइँदै



काठमाडौँ, २८ वैशाख । स्थानीय तहको पहिलो चरणको आगामी आइतबारको निर्वाचनमा सहभागी हुने मतदातालाई मतदाता परिचयपत्र वितरणसँगै निर्वाचन चिह्नमा ठीक ढङ्गबाट मत सङ्केत गर्ने प्रशिक्षण आजदेखि सबै मतदान केन्द्रमा एकैसाथ सुरु भएको छ ।

मुलुकका ३, ४ र ६ नं प्रदेशका ३४ जिल्लाका दुई सय ८३ स्थानीय तहमा कायम रहेका छ हजार छ सय ४२ मतदान केन्द्रमा मतदाता शिक्षा कार्यकर्ता÷स्वयंसेवकले आजदेखि तीन दिनसम्म नमुना मतपत्रको प्रयोग गरी कसरी सही तरिकाले मतदान गर्ने भन्नेबारे मतदातालाई प्रशिक्षण दिने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

पहिलो चरणको निर्वाचन हुने जिल्लामा मतदानस्थल र केन्द्र स्थापना गरी परिचयपत्र वितरण र मत सङ्केत गर्ने प्रशिक्षण अत्यन्तै सुव्यवस्थित ढङ्गबाट भइरहेको आयोगले जनाएको छ । बीस वर्षपछि हुन लागेको स्थानीयस्तरको निर्वाचनमा खसेको सदर मत सङ्ख्या बढाउन तथा बदर मत प्रतिशत घटाउने उदेश्यले आयोगले अभियानकै रुपमा मतदाताका लागि मत सङ्केत गर्ने प्रशिक्षण चलाएको हो । स्थानीय तहको निर्वाचनमा पहिलो चरणमा ४९ लाख ५६ हजार नौ सय २५ मतदाता छन् । दुवै चरणमा गरी कुल मतदाता भने एक करोड ४० लाख ५४ हजार चार सय बयासी छन् । पहिलो चरणको निर्वाचनबाट १३ हजार पाँच सय ५६ जनप्रतिनिधिको चयन हुनेछ । दुवै चरणमा गरी करिब ३६ हजार प्रतिनिधि निर्वाचित हुनेछन् ।

आजै रातिदेखि मौनावधि सुरु
स्थानीय तह निर्वाचन २०७४ अन्तर्गत पहिलो चरणको वैशाख ३१ गते आइतबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म हुने निर्वाचनका सन्दर्भमा आजै राति १२ बजेपछि ‘मौन अवधि’ सुरु हुँदैछ । स्थानीय तह निर्वाचन, निर्देशिका, २०७३ अनुसार मौनावधि प्रारम्भ भएपछि राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन प्रचारप्रसार गर्न निषेध गरिएको छ ।

निर्वाचनका लागि मतदान हुने दिनभन्दा ४८ घन्टाअघिदेखि मतदानको काम पूरा नभएसम्म निर्वाचन हुने पदका लागि निर्धारित क्षेत्रभित्र कुनै उम्मेदवारको पक्ष वा विपक्षमा मत लिने वा दिने उद्देश्यले कुनै प्रकारले कुनै किसिमको प्रचार गर्न दिन हुँदैन भन्ने उल्लेख रहेको आयोगले सम्बद्ध सबैलाई जानकारी गराइसकेको छ ।

स्थानीय तहको निर्वाचनमा खटिएका निर्वाचन अधिकृतले मौनावधिमा राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार गर्न नहुनेसम्बन्धी सूचना आफ्नो कार्यालयमा समेत प्रकाशन गर्नुपर्ने व्यवस्था छ ।

मतदान हुने दिनभन्दा ४८ घन्टाअघिदेखि मतदानको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा दलका पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै प्रकारले प्रचारप्रसार गर्न वा गराउन नपाउने कानुनी व्यवस्था छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot