Logo

निर्वाचनको तयारी अन्तिम चरणमा



चितवन, ३० वैशाख । भोलि हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि जिल्लाका सात तहमा तयारी अन्तिम चरणमा पुगेको छ । जिल्लामा एक महानगरपालिका, पाँच नगरपालिका र एक गाउँपालिका रहेका छन् ।

निर्वाचनका लागि एक सय ६१ वटा मतदान स्थलमा ३७६ केन्द्र रहेका छन् । मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेका अनुसार ती केन्द्रमा कर्मचारी पुगेर परिचयपत्र वितरणको कम भइरहेको छ । उनीहरूले आजसम्म परिचयपत्र वितरण गर्ने छन् ।

यसै अवधिमा मतदान दिने स्थल व्यवस्थापनको काम पनि उनीहरूले गरिरहेको न्यौपानेले बताउनुभयो । एउटा केन्द्रमा मतदान अधिकृत एक जना, सहायक मतदान अधिकृत एक जना, नायब सुब्बा वा खरिदार दुई जना र दुई जना सहायक स्तरका कर्मचारी खटिएका छन् ।

जिल्लाका सात तहका तीन सय ७६ केन्द्रमा दुई हजार २५० जना कर्मचारी परिचालन गरिएको छ । सबै केन्द्रमा मतपत्रसहित आवश्यक सामग्री पुगिसकेको मुख्य निर्वाचन अधिकृत न्यौपानेले बताउनुभयो ।

मतदानस्थलमा केन्द्रको सङ्ख्याको आधारमा सुरक्षाकर्मी खटिइसकेका छन् । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार नेपाल प्रहरी र म्यादी प्रहरी गरेर न्यूनतम नौ जनादेखि ३३ जनासम्म एकै स्थलमा खटिएका छन् । बाहिरी घेरामा सशस्त्र प्रहरीले गस्तीमार्फत सुरक्षा दिन थालिसकेको उहाँले बताउनुभयो । बाहिर रहेर मतदानस्थलको सुरक्षा नेपाली सेनाले पनि दिन थालेको भट्टले बताउनुभयो । नेपाली सेना र सशस्त्र प्रहरीले सातवटै तहमा बेसक्याम्प निर्माण गरिसकेको छ ।

जिल्लामा तीन लाख १३ हजार दुई जना मतदाता रहेका छन् । सात तहमा ९८ वटा वडा रहेका छन् । उनीहरूले सात जना प्रमुखसहित ५०४ जना जनप्रतिनिधि निर्वाचित गर्ने छन् । दलित र अल्पसङ्ख्यकबाट २० जना मनोनीत गरिने छ । रासस



प्रतिक्रिया दिनुहोस्