Logo

निर्वाचनको पूर्वसन्ध्यामा आम मतदाताहरुमा ’प्रचण्ड’को अपील



काठमाडौं, ३० बैशाख । निर्वाचनको पूर्वसन्ध्यामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको नाममा खुल्ला अपिल गरेका गरेका छन् ।

समस्त नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरू,

१। नेपाली जनताको दशकौं लामो संघर्ष र वलिदानबाट प्राप्त संविधान कार्यान्वयनको सन्दर्भमा देश स्थानीय तहको निर्वाचनको संघारमा रहेको छ ।

२। नेपालको संविधानले संघ, प्रदेश र स्थानीय गरी तीन तहको संघीय शासन प्रणालीको व्यवस्था गरे बमोजिम जनताले दैनिक रुपमा देख्न र अनुभव गर्न सक्ने स्थानीय तहको पहिलो चरणको निर्वाचन यही बैशाख ३१ गते हुदैंछ । भोलि प्रदेश नं ३, ४ र ६ अन्तर्गत ३४ जिल्लाका २८३ स्थानीय तहमा १३,५५६ जनप्रतिनिधि छनौट गर्ने कार्यको अन्तिम अवस्थामा छौं । स्थानीय तहको यस ऐतिहासिक चुनावमा सक्रिय रुपमा भाग लिई आफ्नो सार्वभौम मताधिकारको प्रयोग गर्न म सम्पूर्ण मतदाताहरुमा हार्दिक अपिल गर्दछु ।

३। पहिलो चोटि नेपालको संविधानले नेपालको सार्वभौम अधिकार नेपाली जनतामा निहित गरेको छ । लोकतन्त्रमा जनताले मूलतः आफ्नो सार्वभौम अधिकारको प्रयोग गर्ने भनेको निर्वाचनका माध्यमवाट नै हो । अर्को शब्दमा जनताले आफ्नो निर्णायक शक्तिको प्रयोग चुनावमार्फत् गर्दछन् । यस अर्थमा नेपाली जनताले प्राप्त गरेको सार्वभौम अधिकारको प्रयोग गर्ने पहिलो अवसरका रुपमा यस निर्वाचनलाई लिन सकिन्छ ।

४। धेरैले लगभग बीस वर्षको अन्तरालपछि स्थानीय चुनाव हुन गइरहेको भन्ने गरेको पाइन्छ । हो, स्थानीय स्तरमा जन प्रतिनिधि चुन्ने अर्थमा यस्तो चुनाव लामो समय पछि हुन गइरहेको छ । तर म के स्पष्ट पार्न चाहन्छु भने यस्तो प्रकारको चुनाव नेपालमा पहिलो चोटि हुँदैछ । एकातिर यो चुनाव नेपालको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउने कडीका रुपमा रहेको छ भने अर्कातिर स्थानीय लोकतन्त्रलाई सुदृढ गर्दै लामो समयदेखि जरा गाडेको एकात्मक र केन्द्रीकृत राज्यसत्ताको अन्त्य गरी संघात्मक शासन व्यवस्थाको स्थापनाका लागि एउटा कोशेढुंगाका रुपमा लिन सकिन्छ । यही चुनावबाटै सिंहदरबार केन्द्रित अधिकार र स्रोत साधनलाई जनताको घर आँगनसम्म पु¥याउनका लागि ढोका खुला हुनेछ ।

५। समावेशिताको दृष्टकोणले पनि यो चुनाव ऐतिहासिक रहेको छ । यो चुनावमा हरेक वडाबाट एक दलित महिला सदस्यसहित दुई जना महिला चुनिने व्यवस्था गरिएबाट लगभग ४० प्रतिशत दिदीबहिनीहरु अनिवार्य रुपमा चुनिएर आँउदै हुनुहुन्छ भने गाउँपालिका र नगरपालिकाका प्रमुख र उप प्रमुख मध्ये एक जना महिला उठाउनै पर्ने व्यवस्थाबाट पनि ठूलो संख्यामा महिलाहरु चुनिएर आउने अवसरको सिर्जना भएको छ । यो भनेको शदियौंदेखि चुलो चौकामा सीमित नेपाली महिलाहरुको सशक्तीकरण र नेतृत्व निर्माणका दिशामा ऐतिहासिक कोशेढुंगा हुनेछ ।

६। यस निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन निर्वाचन आयोगले आफ्नो तर्फबाट सबै उपाय अपनाएको छ भने नेपाल सरकारले पनि आफ्नो तर्फबाट गर्नुपर्ने काममा कुनै कसर बाँकी राखेको छैन । मूलतः शान्ति सुरक्षाको दृष्टिले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न दरिलो र भरपर्दो सुरक्षा प्रबन्ध मिलाइएको छ । तसर्थ सबै मतदाता दिदी बहिनी तथा दाजुभाइहरुलाई यस ऐतिहासिक अवसरको सदुपयोग गर्दै कुनै भय र संकोच विना निर्धक्क भई आफूले चाहेका उम्मेदवारहरुलाई मत खसाल्न हार्दिक अनुरोध गर्दछु ।

७। निर्वाचनको यस पवित्र कार्यमा खटिएका राष्ट्रसेवक कर्मचारी, शिक्षक, सुरक्षाकर्मीसहित सबैलाई संयमतापूर्वक आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गर्दछु भने राजनैतिक दल, संचारकर्मीलगायत सम्पूर्णमा आ—आफ्नो क्षेत्रबाट सहयोगका लागि अपिल गर्न चाहन्छु । सिंगो देश सहभागी भएको लोकतन्त्रको यो सबैभन्दा ठूलो उत्सवलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न आवश्यक छ । भोलि केवल मतदानको दिन मात्र होइन, नेपाली लोकतान्त्रिक इतिहासको महाउत्सवको दिन पनि हो ।

८। संविधानको स्वीकार्यता बढाई मधेशी, थारु, आदिवासी जनजाति लगायतको सहभागिता सुनिश्चित गर्ने अभिप्रायले प्रदेश नं १, २, ५ र ७ मा स्थानीय तहको चुनाव दोस्रो चरमा गरिदै छ । ती प्रदेशमा आगामी जेठ ३१ गतेका लागि निर्वाचनको मिति तय गरिएको छ । म ती प्रदेशका आदरणीय जनसमुदायलाई आफ्ना जनप्रतिनिधि चुन्ने कार्यको तयारीमा सक्रियतापूर्वक लाग्न पनि विशेष अपील गर्दछु । सरकार तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध छ ।

९। अन्तमा, नेपाली जनताको यस ऐतिहासिक लोकतान्त्रिक अभ्यासमा अन्तराष्ट्रिय समुदायबाट प्राप्त सहयोग र समझदारीप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि सदा झै सहयोग र सदभावको अपेक्षा गर्दछु ।
मितिः ३० वैशाख, २०७४
पुष्पकमल दाहाल ‘प्रचण्ड’



प्रतिक्रिया दिनुहोस्