Logo

स्थानीय तह निर्वाचनः काठमाडौंको सबै तयारी पूरा



काठमाडौं, ३० वैशाख । आइतबार हुने काठमाडाँै जिल्लाका स्थानीय तहको निर्वाचनको तयारी पूरा भएको छ ।

मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले एक महानगर र १० नगरपालिकामा आइतबार हुने निर्वाचनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सबै नगरपालिकाकाले निर्वाचन सामग्री लगिरहेका छन् । ‘‘टाढा रहेका सबै नगरपालिकाले निर्वाचन सामग्री लगिसकेका छन्’’उहाँले भन्नुभयो, ‘‘नजिकका टोखा, बूढानीलकण्ठले मात्र बाँकी रहेका छन् । साँझसम्म सबैले लैजान्छन् ।’’ सम्बन्धित नगरपालिकाका निर्वाचन अधिकृतले बिहीबारदेखि नै मतपत्र र मतपेटिका लगिरहेका छन् ।

काठमाडाँै जिल्लामा काठमाडौँ महानगरपालिकासहित नागार्जुन, शङ्खरापुर, गोकर्णेश्वर, तारकेश्वर, दक्षिणकाली, कागेश्वरी मनोहरा, चन्द्रागिरि, टोखा, कीर्तिपुर र बूढानीलकण्ठ नगरपालिका छन् ।

जिल्लामा छ सय ८७ मतदान केन्द्र छन् । त्यसमध्ये महानगरकाका ३२ वडामा मात्रै तीन सय ४० मतदान केन्द्र रहेका छन् । जिल्लामा पाँच लाख ५९ हजार चार सय मतदाता छन् भने महानगरपालिकामा दुई लाख ७९ हजार ३१६ जनाले मतदान गर्दैछन् । कामपामा एक सय ५९ पदका लागि कुल आठ सय ६४ जनाले उम्मेदवारी दिएका छन् । जिल्लाबाट कुल ७१२ जना निर्वाचित हुनेछन् ।

तीन दलित र्निविरोध

काठमाडाँै महानगरपालिकामा तीन दलित महिला सदस्य र्निविरोघ निर्वाचित हुनुभएको छ । मुख्य निर्वाचन अधिकृत अधिकारीका अनुसार वडा नं १८, १९ र २३ बाट महिला दलित सदस्य र्निर्विरोध निर्वाचित भएका हुन् ।

निर्वाचित हुनेमा वडा नं १८ बाट नेकपा(एमाले)बाट प्रतिनिधित्व गर्ने अम्बिका सुनार तथा वडा नं १९ बाट नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्ने रञ्जिता परियार र वडा नं २३ बाट काँग्रेसकै कञ्चना नेपाली हरिजन रहनुभएको छ । आइतबार हुने निर्वाचनबाट तीनबाहेक कुल एक सय ५९ दलित महिला निर्वाचित हुनेछन् । रासस



प्रतिक्रिया दिनुहोस्