Logo

निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पुरा, ६९ हजार ५ सय ५७ सुरक्षाकर्मी परिचालन : गृहमन्त्री निधि



काठमाडौं, ३० बैशाख । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भोली हुने स्थानीय तहको निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पुरा भएको जानकारी दिनुभएको छ ।

गृहमन्त्रालयमा आज विशेष पत्रकार सम्मेलन गरि मन्त्री निधिले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र विश्वसनीय रुपमा सम्पन्न गर्नकालागि सबै सुरक्षा निकायलाई समन्वयात्मक र प्रभावकारी रुपमा परिचालन गरिएको पनि बताउनुभयो ।

भोली हुने प्रदेश नम्बर ३, ४ र ६ को निर्वाचनको सुरक्षाकालागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र म्यादी प्रहरी गरि ६९ हजार ५ सय ५७ सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रदेश नम्बर १ मा १ हजार ७ सय ८० मतदानस्थल र ३ हजार ४ सय ९० मतदान केन्द्र तोकिएको छ । जसमा १० हजार ३ सय ७६ नेपाल प्रहरी, ८ हजार ९ सय ३५  सशस्त्र प्रहरी, १ सय ७५ जना राष्ट्रिय अनुसन्धान र १० हजार ५ सय ९० म्यादी प्रहरी परिचालन गरिएको छ ।

त्यसैगरी प्रदेश नम्बर ४ मा १ हजार २ सय ४७ मतदानस्थल केन्द्र छन् भने १ हजार ९ सय ५२ मतदान केन्द्र छन् । जसमा ७ हजार ५४ नेपाल प्रहरी, ३ हजार ९ सय ७३ सशस्त्र प्रहरी १ सय १५ राष्ट्रिय अनुसन्धान र ७ हजार ३५ म्यादी प्रहरी परिचालन गरिएको छ ।

यस्तै प्रदेश नम्बर ६ मा ८ सय ९५ मतदानस्थल, १ हजार १ सय ९९ मतदानकेन्द्र रहेका छन् । त्यहाँ ५ हजार १ सय ५४ नेपाल प्रहरी, ४ हजार ४ सय ४८ सशस्त्र प्रहरी, ९३ जना  राष्ट्रिय अनुसन्धान र ४ हजार ९ सय ७७ जना म्यादी प्रहरी खटाइएको छ ।

त्यसबाहेक ५ हजार थप सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको पनि गृहमन्त्री निधिले जानकारी दिनुभयो । ३ तहको सुरक्षा घेर अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका अधिकारीलाई खटाइएको छ । नेपाली सेना परिचालन गरिएपनि उनीहरुलाई भने बाहिरि घेरामा मात्रै राखिने छ ।
मतदान सकिएपछि मत पेटिका सुरक्षीत गरि मतगणनास्थल सम्म ल्याउनकालागि सुरक्षाकर्मीबाट स्कर्टिङको व्यवस्था मिलाएको छ ।

२० बर्ष पछि हुन लागेको स्थानिय निकायको निर्वाचनलाई मर्यादित बनाउन नेपाली सेना र सशस्त्र प्रहरीले पैदल गस्ती गर्नुका साथै हवाई गस्ती पनि गर्ने छन् । पत्रकार सम्मेलनमा गृहमन्त्री निधिले भन्नुभयो ‘ढुक्क भएर मतदान केन्द्र सम्म गएर भोट हाल्न विशेष आग्रह गर्न चाहन्छु ।’  पत्रकार सम्मेलनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखकाे सहभागिता  थियाे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot