Logo

कालीकोटका दुई गाउँपालिका सम्पर्कविहीन



कालीकोट, २ जेठ । टेलिफोन सेवा अवरुद्ध हुँदा यस जिल्लाका दुई गाउँपालिकामा निर्वाचन सम्पन्न भएपनि त्यहाँको अवस्था थाहापाउन सकिएको छैन ।

जिल्लाको अति विकट मानिएका पलाँता र पचाल झरना गाउँपालिकामा हिजो बिहान १० बजेदेखि मतगणना सुरु भएको भए पनि अहिलेसम्म ती गाउँपालिकामा मतगणना के कतिसम्म भयो भन्ने विवरण आउन नसकेको मुख्य निर्वाचन अधिकृत कार्यालय कालीकोटका प्रमुख निर्वाचन आयुक्त केशवप्रसाद पाण्डेले बताउनुभएको छ ।

सञ्चार विच्छेद भएर दुई गाउँपालिकाको अवस्था बुझ्न नसकिएको हो । जिल्ला प्रहरी कार्यालय, कालीकोटको सञ्चार सेटबाट पटक पटक सम्पर्क गर्न खोज्दा समेत सम्पर्क स्थापित हुन नसकेको बताइएको छ ।

जिप्रकाका प्रहरी हवल्दार धर्मेन्द्र शाहीले त्यस क्षेत्रबाट यता सम्पर्क गरेमा हुने तर यताबाट सम्भव नभएको बताउनुभएको छ । जिल्लाका अन्य क्षेत्रमा मतगणना सुस्त गतिमा भइरहेको बताइएको छ ।

कालीकोट जिल्लाका नरहरिनाथ गाउँपालिकाको नन्दादेवी मावि सेरापाटामा मतगणना कार्य स्थगित भएको छ । कालिका गाउँपालिकाको बालाचौर मतदान केन्द्र, भर्तामा पार्टीहरुमा विवाद भएपछि स्थगित भएको मतदानमा पुनः जेठ ४ गते गरिने प्रमुख निर्वाचन अधिकृतको कार्यालय, कालीकोटले जनाएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot